विराटनगर : प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा वृद्धि भएको पाईएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा वृद्धि भएको पाईएको हो ।
मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तर्क्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कार पछि हत्याका घटनामा वृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले बताए । जनवरी देखि जुन सम्मको अवधिमा ३६६ जना पीडित भएका छन् ।
सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरी १८९ जना पीडित भएका छन् । अप्रिल देखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
इन्सेकको अभिलेखका आधारमा अप्रिल देखि जुनसम्मको अवधिमा बाल अधिकारका घटना मध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुर्व्यवहारका घटनामा २ बालक, १९ बालिका, बाल विवाहको घटनामा ४ बालिका र बलात्कारका घटनामा ५० बालिका गरी ७६ जना पीडित भएका छन् ।
महिला अधिकार अन्तर्गतका घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुर्व्यवहारका घटनामा ३ जना गरी ७७ जना महिला पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताए ।
जनवरी देखि मार्च सम्मको अवधिमा बालबालिका विरुद्ध भएका हिंसाबाट बेचबिखन तथा ओसारपसारमा २, बलात्कारका घटनामा ३४, यौनदुर्व्र्यवहारका १६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत अधिकारीले बताए ।
उनका अनुसार सोही अवधिमा महिला विरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएका छन् । बलात्कारका घटनामा २८, बलात्कार प्रयासमा १३, यौन दुर्व्यवहारमा १, घरेलु हिंसाका २५, बेचबिखन तथा ओसारपसारका ३ र बहुविवाहका ९ वटा घटना इन्सेकले अभिलेखीकरण गरेको जनाएको छ ।
प्रदेश १ का १४ वटै जिल्लाका इन्सेक प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा जनवरी देखि जुन सम्मको मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको तथ्याङ्क सहित स्थिति सूचक प्रकाशन गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताए ।
अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको बर्षपुस्तकमा समेट्ने घटनाहरूको अभिलेखीकरण थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीबिच अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।
वर्ष पुस्तक प्रकाशन गर्नुअघि गरिएका छलफलबाट आएका सुझावले पुस्तक थप परिपक्व बन्ने बताए । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपालको मानव अधिकारको अवस्था थाहा पाउन बर्षपुस्तक हेरे पुग्ने बताए ।
कार्यक्रममा इन्सेक प्रदेश प्रमुख सोमराज थापा, इन्सेकका श्रीराम बजगाईँ, पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाल लगायतले बोलेका थिए ।