धरान : सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो सङ्घीय राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २६ र २७ गते धरानमा हुने भएको छ ।
मञ्चले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै असोज १२ गते भर्चुअल माध्यमबाट भएको वृहत् बैठकले महाधिवेशनको मिति, स्थान तय गर्दै मूल आयोजक समिति र विभिन्न समितिहरू गठन भएको जानकारी दिएको हो ।
महाधिवेशनको लागि अध्यक्ष कुमार लिङ्देन मिराक संयोजक रहेको मूल आयोजक समिति गठन भएको र सदस्यहरूमा सङ्घीय समिति, सबै प्रान्तीय मञ्चका अध्यक्ष एवं समितिहरू, प्रवासका अध्यक्षहरू, जन वर्गीय सङ्गठनका प्रमुखहरू रहने निर्णय गरेको पनि मञ्चले जनाएको छ ।
यस्तै, महाधिवेशनको लागि आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति,विदेश विभाग समिति, स्वास्थ्य उप समिति, स्वयंसेवक उपसमिति, अतिथि सत्कार समिति लगायत विभिन्न समितिहरू पनि गठन गरेको मञ्चले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मञ्चले सम्बद्ध प्रान्तीय मञ्चहरूको महाधिवेशन, राष्ट्रिय सम्मेलन, वृहत् प्रान्तीय मिटिङहरू पनि विभिन्न मितिमा गर्ने निर्णय गरेको जानकारी दिएको छ । कोरोना महामारीको परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनमा ६ सयदेखि १ हजारको हाराहारीमा मात्र प्रतिनिधिहरू रहने पनि मञ्चले जनाएको छ ।


































































