विराटनगर : जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती 'गोरे'लाई अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाएको छ।
असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो। अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भए पनि सजाय निर्धारण भएको थिएन।
सोमबार अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए।
मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक हजार रुपैयाँका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ गोरेबाट सनम शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको उनले बताए।
ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै गत असोज १९ गते करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको थियो । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये फरार २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।
सरकार पक्षले सङ्गठित रूपमा तस्करी गरिरहेको समूहले राखेको खातापातालाई प्रमाणको रूपमा पेस गरेको थियो । गोरेले अदालतमा बयानका क्रममा सुन तस्करी भएको स्वीकार गरेका थिए । खातापातालाई प्रमाण मान्न नमिल्ने र ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै सफाइ दिएको थियो ।
न्यायाधीश भरत लम्सालको इजलासले शाक्यको हत्या अभियोगमा गोरेसहित सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको फैसला सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।
२०७४ माघ ९ गते तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो ।