विराटनगर : नेकपा एमालेको विराटनगर महानगर कमिटीको अध्यक्षमा युवा नेता सागर थापा सर्वसम्मत चयन भएका छन् ।
मङ्गलवारबाट सुरु भएको महानगर कमिटीको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।
एमाले विराटनगर महानगर कमिटीको अध्यक्ष पदका अर्का प्रत्याशी परशुराम बस्नेतले आफ्नो दाबी फिर्ता लिएपछि थापा सो पदमा सर्वसम्मत चयन भएका हुन् ।
विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका एमाले युवा नेता थापा यस अघि पनि सोही पदको जिम्मेवारीमा थिए, तर अधिवेशनबाट निर्वाचित भएर थापा पहिलो पटक सो पदको जिम्मेवारीमा पुगेका हुन् ।
यसअघि थापा र बस्नेतले आफ्नो छुट्टाछुट्टै समूह बनाएर पार्टीको महानगर कमिटीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए ।
पार्टी भित्रको समूहगत राजनीतिमा विगत लामो समय देखि ओली समूहमै रहँदै आएका थापा र बस्नेतको प्रतिस्पर्धाले महानगर भित्र पार्टीका आन्तरिक गतिविधि समेत प्रभावित हुन सक्ने भन्दै पार्टीको उच्च तहको नेतृत्वले दुवै समूहलाई मिलाएर सर्वसम्मत नेतृत्व चयन गर्न निकै कसरत गरेको थियो ।
त्यसका लागि अधिवेशनको पूर्वनिर्धारित कार्यक्रमलाई एक दिन लम्ब्याएर उच्च तहका नेताहरूले आन्तरिक प्रयास गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष थापा विद्यार्थी जीवनमा विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्यापसमा दुई कार्यकाल स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका थापा विराटनगर भित्र युवा नेताको रूपमा परिचित छन् ।
त्यसै गरी उपाध्यक्षमा शिल्पा निरौला कार्की चयन भएकी छन् । विराटनगरमा उद्यमशील महिलाको रूपमा परिचित कार्की विगत लामो समय देखि विराटनगरको एमाले राजनीतिमा सक्रिय महिला हुन् । सचिवमा सक्रिय युवा नेता रोहित कोइराला सर्वसम्मत चयन भएका छन् ।
सचिव पदका अर्का प्रत्याशी राधेश्याम कट्टेलले आफ्नो दाबी फिर्ता लिएपछि कोइराला पनि सर्वसम्मत चयन भएका हुन् । महानगर भित्र सर्वसम्मत नेतृत्व चयनका लागि थापा समूहबाट सचिवका प्रत्याशी कट्टेलले नेताहरूको अनुरोधमा आफूले उम्मेदवारी फिर्ता लिएको बताए । सचिव पदमा निर्वाचित कोइराला नेपाल विद्यार्थी सङ्घको पृष्ठभूमिबाट एमाले राजनीतिमा आएका हुन् ।
महानगरको सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो सर्वसम्मत चयन भएका छन् । नेपाल माओवादी हुँदै एमाले राजनीतिमा सक्रिय युवा हुन् भने महतो मधेसको पिछडा वर्गको राजनीतिमा सक्रिय व्यक्ति हुन् ।
रतुवामाईमा दाहाल
मंगलबार सम्पन्न अधिवेशनले एमाले रतुवामाई नगर कमिटीको अध्यक्षमा देवी दाहाल, उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा नेवालाल राजवंशी तथा सह सचिवमा हेम कार्की र हरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
कटहरीमा राजवंशी
कटहरी गाउँ कमिटीको अध्यक्षमा रामनारायण राजवंशी, उपाध्यक्षमा सुमनकुमार सरदार, सचिवमा मनोज माझी तथा सहसचिवमा यादव अधिकारी चयन भएका छन् ।
रंगेलीमा बस्नेत
रंगेली नगर कमिटीको अध्यक्षमा दलबहादुर बस्नेत, उपाध्यक्षमा जीतलाल मण्डल, सचिवमा शान्तलाल खवास तथा सहसचिवमा यशोदा खतिवडा कोइराला र कृष्णकुमार ठाकुर चयन भएका छन् ।
ग्रामथानमा आचार्य
ग्रामथान गाउँ कमिटीको अध्यक्षमा कुमार आचार्य, उपाध्यक्ष तुलसीराम विश्वास, सचिवमा सत्यनारायण माझी तथा सहसचिवमा अरबपति गच्छदार र नवीन मण्डल थारु चयन भएका छन् ।
सुन्दरहरैचामा ढकाल
सुन्दरहरैचा नगर कमिटीको अध्यक्षमा मात्रिकाबाबु ढकाल, उपाध्यक्षमा अकलदेवी चौधरी, सचिवमा सन्तोष घिमिरे तथा सहसचिवमा डिल्ली ढकाल र डिल्ली लुइँटेल चयन भएका छन् ।
मिक्लाजुङमा लिम्बु
मिक्लाजुङ गाउँ कमिटीको अध्यक्षमा बुद्धिमान लिम्बू, उपाध्यक्षमा बृद्धिलाल निरौला, सचिवमा नवीन कार्की, सहसचिवमा चन्द्र लिम्बु चयन भएका छन् ।
केराबारीमा मगर
केराबारी गाउँ कमिटीको अध्यक्षमा पूर्णबहादुर मगर, उपाध्यक्षमा राकेश राई, सचिवमा भीमबहादुर कार्की तथा सह सचिवमा सविता लिम्बू र शरण मगर सर्वसम्मत चयन भएका छन् ।
पथरीशनिश्चरेमा दाहाल
पथरीशनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहाल चयन भएको घोषणा गरिएको छ । तर प्रक्रिया मिचेर कमिटी घोषणा गरिएको भन्दै केही पदाधिकारीहरूले शपथ ग्रहणमा सहभागिता नजनाउने बताएका छन् ।
बुढीगंगा, कानेपोखरी र बेलबारीमा सर्वसम्मतको पहल
बुढीगंगा, कानेपोखरी र बेलबारीमा नेतृत्व चयन हुन सकेको छैन । पदाधिकारीमा एक भन्दा बढी आकाङ्क्षी भएपछि नेतृत्व चयनमा ढिलाइ भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको नेताहरूले बताएका छन् । बुढीगंगामा मंगलबार सर्वसम्मत हुन नसकेपछि बुधबारका लागि बन्द सत्र सारिएको थियो । बुधवार पार्टी नेता प्रेम चाम्लिङको निधनका कारण बिहीबारका लागि बन्द सत्र सारिएको एमाले नेतृ रिता न्यौपानेले जानकारी दिइन ।
५ पालिकामा निर्धारित मितिमा अधिवेशन हुन सकेन
कात्तिक ९ गते देशव्यापी पालिका अधिवेशन हुने निर्णय भए पनि लेटाङ, उर्लाबारी, धनपालथान, सुनबर्षी र जहदामा केही दिनका लागि अधिवेशन स्थगित भएको छ । स्थगित अधिवेशन छिटै हुने एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।