इटहरी : नेपाल विद्यार्थी सङ्घ नेपाली काँग्रेसको शक्तिशाली भातृ संस्था हो । नेपाली काँग्रेसको नर्सरीको रूपमा हेरिएको नेबिसंघबाटै काँग्रेसका नेताहरू उत्पादन हुने गर्छन् । एक हिसाबले नेतृत्व उत्पादनको कारखाना नै हो नेबिसंघ । हालका प्रधानमन्त्री शेरबहादुर देउवा देखी गृहमन्त्री बालकृष्ण खाँड, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की नेबिसंघका पूर्व अध्यक्षहरू हुन् । यसरी हेर्दा केन्द्र देखी स्थानीय स्तरसम्म नै नेबिसंघको राजनीति गरेर आएका युवाहरू स्थापित भएका छन् ।

भर्खरै सम्पन्न इटहरी उपमहानगरको अधिवेशनमा पनि नेबिसंघको बलशाली उपस्थिति देखियो । नेबिसंघबाट जनता बहुमुखी क्याम्पसमा स्ववियू सभापति भएका हेमकर्ण पौडेल र नेबिसंघ पूर्व केन्द्रीय उपसभापति विकाश केसीको प्रतिस्पर्धा निक्कै रोचक देखियो । दुवै टिमको पक्षमा लागिपरेका नेताहरू पनि नेबिसंघकै उत्पादन हुन् । नेबिसंघ केन्द्रीय सभापति राजीव ढुङ्गाना र सुनसरी पूर्व जिल्ला सभापति रोहित प्रसाईँ इटहरी काँग्रेसका खम्बा मानिन्छन् ।

त्यससँगै इटहरी काँग्रेसमा नेबिसंघबाट उदाएका युवा नेताहरूको बाहुल्यता बढ्दै गएको छ । नेबिसंघबाटै राजनीति सुरु गरेका नेताहरू मुलपार्टीको निर्णायक ठाउँमा पुग्न थालेका छन् ।

विक्रम घिमिरे

bikram

घिमिरेले राजनीतिको सुरुवात नेबिसंघ बाट नै गरे । काँग्रेसकै पारिवारिक पृष्ठभूमि भएका उनी नेबिसंघ सुनसरीको जिल्ला सदस्य बाट राजनीतिमा उदाएका हुन् । नेबिसंघ सुनसरीको सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्ष भएका उनी हाल इटहरी काँग्रेसको नवनिर्वाचित सचिव हुन् । सचिवमा सर्वाधिक मत ल्याएका उनी उदारवादी धारका नेता मानिन्छन् । व्यवसायमा पनि सक्रिय घिमिरे राजनीतिलाई कमाउने भन्दा पनि सेवा गर्ने माध्यम बनाउनुपर्ने धारणा राख्छन् ।

मन्दीप भट्टराई

mandip

भट्टराई नेबिसंघ सुनसरी सभापति हुन् । भर्खरै सम्पन्न इटहरी उपमहानगर अधिवेशनबाट काँग्रेस नगर सचिव निर्वाचित भएका छन् उनी। १३ औँ अधिवेशनमै नगर सदस्य विजयी भएका भट्टराई नेबिसंघ सुनसरीमा सहसचिव सचिव हुँदै सभापति भएका हुन् । लामो समय सुनसरी नेविसंघको अधिवेशन हुन नसकेपछि उनी तदर्थ समितिको सभापति भएका हुन् । जिल्ला अधिवेशन गराउन नसकेका उनले उपसभापति बुद्धहाङ लिम्बुलाई कार्यबहाकको जिम्मेवारी दिएका छन् । इटहरीमा निक्कै लोकप्रिय छवि बनाएका उनले आफूलाई आगामी नगर सभापतिको दाबेदारको रूपमा प्रस्तुत गरेका छन् ।

करुणा शङ्कर राई (विज्ञान)

b-rai

राई नेबिसंघ इकाई समिति देखी नै खारिएका नेता हुन् । नेबिसंघ जनता बहुमुखी क्याम्पसको इकाई सभापति भइसकेका उनी सुनसरी जिल्ला उपसभापति पछि विद्यार्थी राजनीतिबाट बाहिरिए । तथापि नेबिसंघ सुनसरीमा उनको बलियो प्रभाव छ । केही समय वैदेशिक रोजगारीमा होमिएका उनी अहिले कृषि उद्यममा लागेका छन्।

राजनीतिमा निक्कै सुझबुझ र परिपक्व मानिएका राई सबैलाई समेट्न सके मात्र काँग्रेस अगाडी बढ्ने बिचार राख्छन् । नेबिसंघ सुनसरीको चरम विवादको अवस्थामा पनि दुवै समूहलाई समेट्ने र स्थान दिन सक्ने क्षमता राख्ने नेता हुन् राई । राजनीतिमा व्यवसाय छिर्न नहुने बताउँदै आएका उनी योगदानको आधारमा मूल्याङ्कन हुनुपर्ने तर्क राख्छन् । राई इटहरी काँग्रेसको उदीयमान नेताको रूपमा परिचित छन् ।

सुवेक्छु देवान

su-dewan

देवान नेबिसंघ सुनसरीको उपसभापति हुन् । नेपाली काँग्रेसको जारी अधिवेशनमा संस्थापन पक्षको कमान्डरकै रूपमा देखिएका छन् उनी । अबको राजनीति नारामा मात्र हैन व्यवहारमा केन्द्रीय हुनुपर्ने धारणा राख्दै आएका देवान विद्यार्थी राजनीतिमा पनि शुद्धीकरणको खाँचो रहेको बताउँछन् । मुद्दा सँगै मुभमेन्ट जरुरी रहेको उनको तर्क छ ।

लिबरल सोसाइटी मार्फत सरसफाइ देखी कोरोना बिरुद्धको सचेतना अभियानमा उनी सक्रिय छन् । ढल नाला जस्तै राजनीति पनि सफा गर्ने बेला भएको उनको भनाई छ । राजनीतिमा उदारवादी सोच राख्ने देवान अध्ययनशील युवा नेताको रूपमा चिनिन्छन् । १४ औँ अधिवेशनमा सुनसरी क्षेत्र नम्बर २ (क) को सभापतिमा उम्मेदवारी दिने सोचमा छन् उनी ।

बुद्धहाङ लिम्बू

buddhi-hang

लिम्बू सुनसरी नेबिसंघको कार्यबहाक सभापति हुन् । सुनसरी जिल्ला केन्द्रित विद्यार्थी राजनीतिमा सक्रिय छन् उनी । मानविकी सङ्कायमा स्नातकोत्तर गर्दै गरेका लिम्बूले औपचारिक र अनौपचारिक अध्ययनलाई सँगै अगाडी बढाइरहेका छन् । लामो समय देखी अधिवेशन हुन नसकेको नेबिसंघको इकाई तथा जिल्ला अधिवेशनको तयारीमा छन् उनी । संस्थापन पक्षका बलिया नेताको रूपमा चिनिएका लिम्बू व्यवसाय सँगै राजनीतिमा सक्रिय छन् । उनी इटहरी काँग्रेसका उदीयमान नेताको रूपमा अगाडी आइरहेका छन् ।

टङ्क दाहाल (भ्रमण)

tanka-dahal

दाहाल नेबिसंघ सुनसरी उपसभापति हुन् । विद्यालयको इकाई कमिटी देखी नेबिसंघमा लागेका उनी संस्थापन इतर पक्षका नेता हुन् । जनता बहुमुखी क्याम्पसमा लोकप्रिय मतका साथ स्ववीयू सदस्य निर्वाचित भएका उनी काँग्रेस राजनीतिमा सक्रिय छन् । लामो समयमा नेबिसंघमा रहेका उनी १४ औँ अधिवेशनमा जिल्ला सदस्यको तयारीमा छन् । स्थानीय स्तरमा राम्रो पकड बनाएका उनी पनि व्यवसाय सँगै राजनीतिमा सक्रिय छन् ।

प्रमोद भट्टराई

pramod

भट्टराई नेबिसंघ सुनसरीका जिल्ला सदस्य हुन् । सदस्य भए पनि विद्यार्थी राजनीतिमा राम्रो प्रभाव पार्ने उनी संस्थापन पक्ष मानिन्छन् । केन्द्र देखी स्थानीय स्तरसम्मै राम्रो पहुँच भएका भट्टराई जनता बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार भएका थिए । हाल सोही क्याम्पसको सञ्चालक समिति सदस्य छन् । इटहरी काँग्रेसको अधिवेशनबाट लोकप्रिय मतका साथ नगर सदस्य निर्वाचित भएका उनी प्रभावशाली नेताको रूपमा उदाएका छन् । नेबिसंघ सुनसरीको भावी सभापतिको रूपमा हेरिएका उनले सोही अनुसार सङ्गठन बढाउँदै लगेका छन् । सामाजिक क्षेत्रमा पनि प्रभावकारी भूमिकामा रहेका भट्टराई राजनीतिको दह्रो जग बनाउने अभियानमा छन् ।