धरान : सुनसरी प्रहरीले आज एकै दिन ४२ जना फरार प्रतिबादीहरुलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेस गरेको छ। प्रहरीले गएको साउन महिना यता ५६५ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विभिन्न समयमा विभिन्न अपराध गरी सुनसरी जिल्ला अदालतमा पेस हुँदा कैद तथा जरिवाना तोकिएका फरार व्यक्तिहरू मध्ये चालु आर्थिक वर्षको साउन महिना देखी हालसम्म ५६५ जना फरार प्रतिवादीहरू पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद छब्बिस लाख बहत्तर हजार नौ सय छ रुपैँयाजरिवाना बेरुजु असुल फर्छ्योट गर्न सुनसरी प्रहरी सफल भएको छ।
![](/uploads/advertise/Jutta Chappal Mela_1739253047.jpg)
'अपराध गरे पछि उन्मुक्ति पाउन सकिँदैन, जति भागे पनि जति लुके पनि कानुनको नजरमा लुक्न सकिँदैन, उसको नाममा कायम भएको अभिलेख मेटिँदैन भन्ने सन्देश यस अभियानले दिएको प्रहरीको दाबी छ।
अदालतको बेरुजु सुचीमा कैद र जरिवाना लगत देखिएका प्रतिवादीहरूलाई स्वतःस्फुर्तरुपमा कानुनको सम्मान गरी आफ्नो नाममा कायम रहेको कैद भुक्तान गरी वा जरिवाना तिरेर स-सम्मान बाच्न सुनसरी प्रहरीले सम्बन्धित सवैमा अनुरोध समेत गरेको छ।
यसै सिलसिलामा, तत्कालीन भादगाउँ सिनवारी-६ हाल रामधुनी –५ निवासी जैयस कुमार साहको घरमा २०६८ भदौ १७ गते राती डाँका गरी फरार रहेका मध्ये तत्कालीन चाँदवेला-१ हाल इनरुवा-७ बस्ने रसुल मियाको छोरा अजित मियाँलाई सुनसरी प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा मिति मङ्सिर ६ गते उनकै घर एरियाबाट पक्राउ गरेको छ । फरार प्रतिवादी अजित मियाले ०७४।०९।२७ गते आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएको खुलेको छ।