धरान : हिमालयन महायन देक्षेन छोलिङ गुम्बा धरानको ४६ औ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर १८ स्थित आफ्नै धार्मिक सभा हलमा वडा अध्यक्ष प्रवीण (नरेन्द्र) राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
चार वर्षे समितिको कार्यकाल अन्तर्गत अहिले तेस्रो वर्ष पूरा भएको कुरा गुम्बा व्यवस्थापन समिति अध्यक्ष ङावालप्टु लामा शेर्पाले जानकारी दिए । सभामा प्रमुख अतिथिबाट आर्थिक सहयोग २५ हजार रुपैयाँ पनि प्रदान गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
वडा कार्यालयबाट गत साल दुई लाख र चालू आर्थिक वर्षमा २ लाख पचास हजार विनियोजन भएको जानकारी दिए । सभाको खुल्ला सत्रमा गुम्बाका प्रमुख लामा दोर्जी लोपेन निमा वाङ्दी सहित विभिन्न व्यक्तिले आर्थिक जिन्सी सहयोग गरेको भन्दै सम्मान गरिएको छ ।
त्यसै गरी गुम्बामा आजीवन सदस्य थपिने क्रम जारी भएसँगै सदस्यता वितरण गरिएको छ । गुम्बाको आजीवन सदस्यता शुल्क १० हजार ५५५ रुपैयाँ रहेको भन्दै यति शुल्क बुझाए पछि तीन पुस्ताको लागि आजीवन सदस्य प्राप्त हुने कुरा अध्यक्षले बताए । हाल यस गुम्बाको २४६ जना आजीवन सदस्य रहेका छन् ।
बन्द सत्रमा गुम्बाका सचिव दातेन्जी शेर्पाले वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनलाई सभाले पारित गर्दै आगामी वर्षको कार्ययोजनाको प्रस्तावमा छलफल भएको छ ।
२०३० सालमा बुद्धिष्ट एसोसिएसन नामक संस्था दर्ता गरी सोलु केरुङका पासाङ शेर्पाले नगद एक हजार सहित डेढ कठ्ठा जग्गा प्रदान गरेपछि त्यहाँ गुम्बाको स्थापना भएको हो । २०४७ सालमा गुम्बालाई सुनसरी जिल्ला प्रशासन कार्यालयमा बिधिवत रूपमा दर्ता गरी २०५८ सालमा पुननिर्माण गरिएको हो ।