धरान : नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव हुन् ।
अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउन सफल भए। अध्यक्षमा ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १११, देवान चाम्लिङले १२० र शिवकुमार डाँगीले ११३ मत ल्याएर विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रा ल्याएका थिए ।
यस्तै ३ जना सहसचिवमा कुमारी राईले ११४, सागर किराँतीले ७३ र ऋषिराम ढुङ्गानाले ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वन्दना झाँगडले ५७ मत मात्रा प्राप्त गरिन् ।
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।