धरान : चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।

भेडी गोठ सार्ने क्रममा फसेका उनीहरूलाई उद्धार गर्न आज बिहान माउन्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको भए पनि प्राविधिक नभएको भन्दै बिहान हेलिकोप्टर पठाउन नसकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

उनले भने,-१४ गते साँझ परेको हिउँका कारण उनीहरू मिक्वा खोलाको तीन पोखरी भन्ने स्थानमा फसेका हुन् । हिउँमा फसेका ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उनका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेको मिक्वाखोला ५ का वडाध्यक्ष डुण्डु सेर्पाले जानकारी दिए ।

वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा उनीहरू परेको र अहिले ओडार भेटेर बसेकोले उनीहरूलाई उद्धारका लागि केही बेर पछि अल्टिच्युट एयरको हेलिकोप्टर पठाउने तयारी भइरहेको उनले बताए । हिउँमा फसेका शेर्पाले हिजो बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाले बताए ।

उनीहरूको उद्धारका लागि हिजो प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएको भए पनि बाक्लो हिमपातका कारण उनीहरू बिच बाटोबाट नै फर्किएको बताइएको छ ।

चार दिन देखि हिउँमा फसेका बाबुछोराको उद्धारको लागि आफूले सबै तयारी गरिरहेको बताउँदै आज जसरी पनि उनीहरूको उद्धार गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।