धरान : पूर्वको सिमसार क्षेत्रमा आज देखि जलपंक्षी गणना सुरु भएको छ ।
कोशी वर्ड सोसाइटीको आयोजनामा सुरु भएको जलपंक्षी गणना पाँच दिन सम्म जारी रहने छ । आज वराहक्षेत्र नगरपालिकाका उपमेयर कमला मगरले उद्घाटन गरेको पंक्षी गणनाको पहिलो दिन सप्तकोशी नदीको चतरा पुलबाट सुरु भएर राजावास सम्म गणना गरिएको कोशी वर्ड सोसाइटीका पूर्व अध्यक्ष तथा सल्लाहकार अनीश तिम्सिनाले जानकारी दिए ।
तीन समूहमा विभाजन भएर कोशी नदीमा गरिएको आजको गणनामा बार हेडेड बुज (खोया हाँस) २ सय भन्दा बढीको समूह र दुर्लभ पानी हास प्रजातिको ग्रेटर वाइट फ्रन्टेड वुज राजावास नजिकै एउटा फेला परेको चरा गणनामा संलग्न चराविद् अनीश तिम्सिनाले बताए ।
हिमालय नेचर, केटीके वेल्ड, जेटएसएल, जेटएनसी, केविओ, नेपाल पंक्षी समाज, कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाली सेनाको शुत्रुभञ्जन गुल्म र वराहक्षेत्र नगरपालिकाको सहयोगमा जलपंक्षी गणना सुरु भएको हो ।
भोलि आइतबार राजावास देखि कोशीटप्पु वन्यजन्तु आरक्ष हुँदै कोशीव्यारेज सम्म जलपंक्षी गणना हुने बताइएको छ । पूर्वका सिमसार क्षेत्रहरू बर्जुताल, उर्लाबारी, बेलबारी र तरहरा लगायतका सिमसार क्षेत्रमा ५ दिन सम्म जलपंक्षी गणना गरिने आयोजकले जनाएको छ ।
जनवरी १६ सम्ममा गणना गरिएका सबै तथ्याङ्क सार्वजनिक गर्ने गरी जलपंक्षी गणना सुरु भएको आयोजकले बताएको छ । हरेक वर्ष यही समयमा जलपंक्षी गणना गरिँदै आएको छ ।
जलपंक्षी गणनामा चराविदहरु अनीश तिम्सिना, सञ्जीव आचार्य, विमल तिम्सिना, चक्र तिम्सिना, दिनेश घिमिरे, सम्झना कार्की, इन्दिरा कार्की लगायतको टोलीले जलपंक्षीको गणना गरिरहेका छन् ।





































































