धरान : ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार गर्न गएको हेलिकोप्टर रित्तै फर्किएको छ ।

अल्टिच्युट एयरको हेलिकप्टरले पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि सुकेटार विमानस्थल रित्तै फर्किएको मिक्वाखोला-५ का वडाध्यक्ष डण्डु सेर्पाले कपुरी न्युजलाई जानकारी दिए ।

शनिवार बिहान माउण्टेन एयरको हेलिकोप्टरलाई अनुरोध गर्दा हिउँमा ल्यान्ड गर्न नसक्ने भनेको र पछि अल्टिच्युट एयरको हेलिकोप्टरलाई काठमाण्डौबाट झिकाइएको थियो । दिउसो हेलिकोप्टर उद्धारका लागि दिउसो हिउँमा फसेका बाबु छोरा भएको स्थानमा गएको थियो ।

तर उनीहरूले भनेको लोकेसन फरक पर्दा उद्धार हुन नसकेको अध्यक्ष सेर्पाले बताए । दोश्रोपटक जाँदा उक्त क्षेत्रको मौसम बिग्रिएकाले भोलि आइतबार फेरि प्रयास गर्ने गरी हेलिकोप्टर सुकेटार फर्किएको उनले बताए ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङका लाक्पाटाँसी शेर्पा र उनका १४ वर्षका छोरा पासाङ १४ गते बेलुकादेखि हिउँमा फसेका हुन् । उनीहरू चौँरी गोठ सार्ने क्रममा हिउँमा फसेको वडाध्यक्ष शेर्पाले बताए । आज पनि उनीहरू टेलिफोन सम्पर्कमा आएको अध्यक्ष शेर्पाले बताए ।

खानेकुरा सातु चामल समेत सकेको र जनवारको मासु खाएर उनीहरूले ओडारमा बसेको बताएको शेर्पाले बताए । अध्यक्ष हामीलाई चौँरीसँगै हिउँ पहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ निस्कन सक्छौँ होला उनीहरूले भनेको वडाध्यक्ष शेर्पाले भने, तर शनिवार बिहान ५ बजे फोन गरेर हामी निस्कन नसक्ने भयौँ हेलिकप्टरबाट निकालिदिनु भने र हेलिकोप्टरबाट उद्धारको प्रयास गरिरहेका छौँ ।’