धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले माघे सङ्क्रान्ति,माघी पर्व र प्रकृतिपुजक किरात समुदायको यलम्बर सम्बत् ५०८२ को अवसरमा शुभकामना सन्देश दिएका छन् ।

मेयर राईले आज सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका हुन् । यस्ता चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको मेयर राईको भनाई छ ।

नेपाल बहुजाती, बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक, विशेषताहरूले भरिएको सुन्दर देश भएको बताउँदै मेयर राईले जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रूपमा हर्षोल्लास पूर्वक धूमधामले मनाउने गरेको उल्लेख गरेका छन् ।

साथै, प्रकृतिपुजक किरात समुदायले पनि यलम्बर सम्बतको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको रूपमा मनाउने गरेका छन् ।

मेयर राईले कोरोना भाइरस (कोभिड-१९) को महामारी कायमै रहेकोले यस वर्षका अरू चाडपर्वहरूमा जस्तै माघे सङ्क्रान्ति,माघी पर्व र प्रकृतिपुजक किराँत समुदायको यलम्बर सम्बत् ५०८२ पनि उच्च स्वास्थ्य सतर्कताका साथ मनाउन अपिल गरेका छन् ।

तरुल लगायतका कन्दमूल तथा घिउ, चाकु, तिलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले नेपालीबिच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको मेयर राईको भनाई छ ।