धरान : पछिल्लो समय नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमणदर बढिरहेको बेलामा झापाको कन्काई धाम र वराहक्षेत्रमा मकर स्नान गर्नेको ठुलो भिड लागेको थियो ।

केही दिन अघि मात्रै झापाको कनकाईमा माइबेनी मेला नलगाउने निर्णय भएको थियो । माइबेनी मेला नलाग्ने भनिरहँदा पनि आज कन्काई धाममा मकर स्नान गर्नेको ठुलो भिड लागेको थियो ।

झापाको शिबसताक्षी र कन्काई नगरपालिकाको सिमाना भएर बग्ने माई खोलाको दुवै तर्फको किनारमा माघे सक्रान्ति मेला लाग्ने गर्दथ्यो । तर, विगत केही वर्ष यता कोरोना सङ्क्रमणका कारण मेला प्रभावित हुँदै आएको छ । माघे संक्रान्ति पर्वको अवसरमा देश विदेशबाट माई मेला भर्न तथा आ आफ्नो भाकल पुरा गर्नको लागी तिर्थालु भक्तजनहरू हरेक वर्ष माई आउने गरेका थिए ।

विगतको जस्तो बृहत् मेला नलागे पनि यहाँ दुवै तर्फ नदी किनारमा बिहानै देखि माई खोलामा भाकल पुरा गरी पूजा आज गर्ने तिर्थालु भक्तजनहरूको भने निकै भिड देखिएको छ ।

यहाँ स्नान गरी पूजा गर्दा आफ्नो मनोकामना समेत पुरा हुने भएकोले हरेक वर्ष आउने गरेको चन्द्रगढीबाट आएकी दिव्या दाहाल बताउँछिन् ।

कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाए पछि माई मेला स्थगित गरिएको थियो । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाले धार्मिक र रमाइलो मेला लगाउन रोक लगाए पनि मकर स्नान गर्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबिच आज सुनसरीको वराहक्षेत्रमा मकर स्नान गर्ने तिर्थालु वराहक्षेत्र धाममा ठुलो भिड लागेको थियो

मकर स्नान गर्न वराहक्षेत्र धामको कोकाहा कौशीकीको सङ्गममा स्नान गर्न देश विदेशबाट भक्तजन आएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । तर विगतको वर्षमा भन्दा केही सङ्ख्या कमी आएको उनले बताए ।

मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेका अनुसार मेलामा करिब १ लाख तिर्थालु आएको अनुमान गरिएको छ ।

-सुदिप अधिकारी झापा र सङ्गम विष्ट चतराबाट

Barahachetra-1 Barahachetra-2 Mai-2