धरान : वराहक्षेत्र मन्दिरमा धरान-८ की ७३ वर्षीय वृद्ध भोजरानी लिम्बु लुटिएकी छिन् ।

आज वराहक्षेत्र मन्दिरमा दर्शन गर्न पुगेकी लिम्बु मन्दिरमा दर्शन गरी बाहिर निस्किनेक्रममा हातमा लगाएको साढे ४ तोला सुनको चुरा लुटिएको उनको छोरा सोमराज लिम्बुले बताए । आमा मन्दिर भित्र पूजा गरेर बाहिर निस्किनेक्रममा हातको चुरा थुतिएपछि चिच्याएकी थिइन् ।

उनैले चुरा थुत्नेलाई हातमा समातेका थिए । सुनको चुरा थुतेर भाग्नेक्रममा नजिकै रहेकी महिला प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेका थिए । पक्राउ गरिएका पर्सा वीरगन्ज-९ का ३१ वर्षीय गुण्डुकुमार राय यादव रहेका छन् । उनको साथबाट लुटिएको सुनको चुरा फेला नपरेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार सुनको चुरा थुत्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय चक्रघट्टी ल्याइसकिएको छ । तर उनको साथबाट सुनको चुरा फेला नपरेको उनले बताए ।

उनका अनुसार पक्राउ परेका व्यक्ति पकेटमार समूहको एक सदस्य हुन सक्ने र उनले चोरेको सुनको चुरा भाग्नेक्रममा साथीहरूलाई पास गरिसकेको हुनसक्छ । पक्राउ परेका व्यक्तिलाई हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक राजवंशीले बताए ।