झापा : बजेट नहुँदा मोरङको उर्लाबारीमा निर्माणाधीन वहुवर्षीय योजनाको बसपार्कको काम ठप्प भएको छ।

उर्लाबारी-६ मा २०७१ सालदेखि बसपार्क निर्माणको काम सुरु भए पनि अहिलेसम्म एक तिहाइ काम पनि सम्पन्न भएको छैन ।

सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन विभागले सुरु गरेको बसपार्क निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा ६ वर्षमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको काम मात्र भएको छ। बसपार्क निर्माणकालागि दाताले १ विघा १७ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए ।

तर बसपार्क निर्माणमा लापरबाही भएको पाइएको थियो । बसपार्क जाने बाटोमा गरिएको कालोपत्रे कमसल भएको भन्दै स्थानीयले विरोध गरेपछि ठेकेदारले दोहोराएर कालोपत्रे गरेका थिए । काम छारो हालेको जस्तो मात्र भयो । बसपार्कमा निर्माण गरिएको यात्रु प्रतीक्षालयको बस्ने काठ समेत मक्किएका छन् । बसपार्क निर्माणको आधा काम नहुँदै लथालिङ्ग भएपछि स्थानीयमा चाँडै बसपार्क निर्माण सम्पन्न हुने आस मर्न थालेको छ ।

Buspark-1

स्थानीयका अनुसार अलपत्र बनेको उर्लाबारी बसपार्क अहिले दुर्व्यसनीको अखडा बनेको छ । दैनिक जसो दुर्व्यसनमा लागेका युवाहरू भेला हुने भएकोले कुनै दिन अप्रिय घटना घट्न सक्ने उनीहरू बताउँछन् । हुन त इलाका प्रहरी कार्यालय उर्लाबारी यहाँबाट नजिकैको दुरीमा छ । तर, कहिल्यै सो क्षेत्रमा प्रहरीको गस्ती नदेखिएको स्थानीय वासी दुर्गाप्रसाद खतिवडाले बताए ।

कुल प्राप्त जग्गामध्ये ४ कठ्ठा बाटो निर्माणमा र बचेको १ बिघा १३ कठ्ठा जमीनमा बसपार्क बन्न छुट्ट्याइएको भए पनि एक तिहाइ जमिन १० फिट गहिरो काशघारी नै छ । यसलाई पुरेर, यत्रतत्र छरिएर रहेका बस स्टेण्डहरुलाई एकत्रित गर्न सके उर्लाबारीको लथालिङ्ग अवस्थाबाट एकत्रित हुने र व्यापार-ब्यावसाय फस्टाउने, घर-घडेरीको मूल्य बढ्ने, यात्रु तथा नगरवासीलाई सुविधा हुने स्थानीयबासी टिका भट्टराईले बताए ।

Buspark-2

उर्लाबारी नगरवासीको समृद्धि सँग जोडिएको बसपार्क स्थानीय निकायको बेवास्ताका कारण गति लिन नसकेको स्थानियवासीको बुझाई छ । गत आ.व.मा सरकारले बजेट नछुट्ट्याएका कारण सम्पूर्ण काम स्थगित भएको थियो ।

यस आ.व. मा ९० लाख बजेट छुट्ट्याएका कारण मावा खोलाधार पूर्व तर्फको निकास बाटो पुरेर ग्राभेल गर्ने र मधुमल्ला बस स्टेण्ड यहीबाट सञ्चालन गर्ने योजना रहेको उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको भनाई छ ।

२०७१ साल अघि सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन विभागले सुरु गरेको बस पार्कका लागि पहिलो चरणमा ४० लाख, दोस्रो चरणमा २ करोड ६५ लाख, तेस्रो चरणमा ५० लाख गरी जम्मा ३ करोड ५५ लाखको मात्र काम भएको छ ।

सर्वप्रथम जमिन पुराई, ढुङ्गाको पर्खाल, शौचालय निर्माण, यात्रु प्रतीक्षालय, पश्चिमतर्फको एकतर्फी ४ सय मिटर सडक कालोपत्रे, कम्पाउन्ड घेरावारा लगायतका काम भएका छन् । बहुवर्षिय योजना अन्तर्गत बन्न सुरु भएको बसपार्क निर्माण सम्पन्न गर्न अझै १० करोड खर्च लाग्ने अनुमान भए पनि पर्याप्त बजेट अभावमा काम सक्न अझै दसौँ वर्ष लाग्न सक्ने देखिन्छ ।

Buspark-3