धरान : धरानमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च भइरहेको बेलामा मेयर तिलक राईले आम नगरवासीमा कोरोना सङ्क्रमणबाट बच्नका लागि सचेत र सजग रहन अपिल गरेका छन् ।

मेयर राईले आज एक अपिल जारी गरी नगरवासीमा कोरोना भाइरसको तेस्रो भेरियन्टबाट बच्न नगरवासीमा अपिल गरेका हुन् । मेयर राईले यदि कसैमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा शङ्का लागेमा पिसिआर/एन्टिजेन विधिबाट परिक्षण गराउन पनि आग्रह गरेका छन् ।

‘अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख चिउँडो छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरी पटक–पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन पनि अनुरोध गरेका छन् ।

सार्वजनिक स्थान र स्थलहरूमा भिडभाड नगर्न पनि अनुरोध गर्दछु’ मेयर राईद्वारा जारी अपिलमा उल्लेख छ । साथै, मेयर राईले नगरवासीमा कोभिड सम्बन्धी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

महामारीको रूपमा फैलिएको यो कोभिड १९ बाट धरान उपमहानगरपालिकालाई जोगाउनु पर्ने उल्लेख गर्दै मेयर राईले सबैले आ–आफ्नो स्थानबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

Apil

धरान उपमहानगरका ३० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमणः
धरान उपमहानगरपालिकामा अहिले सम्ममा ३० जना भन्दा बढी कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मंगलबार मात्रै एकै दिन धरान उपमहानगरपालिकाका विभिन्न महाशाखाका १० जना भन्दा बढी कर्मचारी कोरोना सङ्क्रमित भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । यस भन्दा अघि धरानका विभिन्न वडा कार्यालयहरूमा कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय धरानमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढी रहेको बेला मंगलबार मात्रै १८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।