धरान : धरानमा एक साताको अवधिमा कोरोना संक्रमणदर उच्च भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको हिजोको रिपोर्टका आधारमा धरान उपमहानगरपालिकामा मात्रै १८७ जनामा एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस मध्ये धरान उपमहानगरपालिकाका विभिन्न महाशाखा र शाखाका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

एक साताको अवधिमा धरान उपमहानगरपालिकाका करिब ३५ भन्दा बढी कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।

उनका अनुसार यो साता धरानका ३ वटा वडा धरान ११, १४ र २० नम्बर वडा त एक साताका लागि बन्द नै गर्नुपर्‍यो । त्यहाँ वडा सचिव मात्रै नभएर अरू कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको थियो ।

यसै गरी वडानं १९, ७, १३ लगायतका केही वडाका सचिव र कर्मचारीहरूमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि धरान उपमहानगरपालिकाको कार्य सञ्चालनमा समेत समस्या भएको खतिवडाले बताए ।

धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणदर उच्च भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार आज बिहान मात्रै धरान उपमहानगरपालिकाका केही कर्मचारी र नेपाल टेलिकमका केही कर्मचारीहरूमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप परीक्षणका लागि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस जाँदै गरेको बताउँदै धरानमा पछिल्लो समय संक्रमणदर उच्च भएको मेहेताले बताए ।

यही क्रममा हिजो धरान १८ का एक ७६ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा बीपीको कोभिड अस्पतालमा मृत्यु भएको छ । उनको मृत्यु ओमिक्रोन भाइरसको सङ्क्रमणबाट भएको बताइएको छ ।