धरान : सुनसरीको बर्जू महोत्सवमा मंगलबार तोडफोड र आगजनी प्रकरणको विस्तृत अनुसन्धानका लागि सुनसरी प्रशासनले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बुधवार विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी बल ४ नं. गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जू गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीलाई सदस्यको रूपमा राखिएको छ ।

समितिले ५ दिनभित्र घटनाको सत्य तथ्य छानबिन गरी प्रमुख जिल्ला अधिकारी अनुसन्धान प्रतिवेदन बुझाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सुनसरी प्रशासनको अनुमति बिना आयोजकले महोत्सवको आयोजना गरेकाले अप्रिय घटना भएको बताइएको छ । कोभिड सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सुनसरी प्रशासनले महोत्सवमा रोक लगाएको भए पनि आयोजकले प्रशासनको निर्देशन विपरीत महोत्सव जारी राखेकाले आगजनी र तोडफोडको घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

माघ २ गतेको पत्रबाट बर्जू महोत्सवको रोक्न आयोजकलाई निर्देशन गरिएको थियो । तर, आयोजकले अटेर गरेपछि अप्रिय घटना भएको जनाइएको छ ।

सुनसरीको बर्जू गाउँपालिका-६ चिमडीमा आयोजित तेस्रो बर्जू महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादव आउने भन्दै आयोजकले टिकट विक्री गरे । पाँच सय र तीन सयका दरले टिकट खरिद गरी यादवलाई हेर्न महोत्सव स्थलमा ठुलो भिड लाग्यो । तर जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्देशन अवज्ञा गरेको भन्दै महोत्सवमा यादवलाई आउन दिएन ।

दिउँसो १२ बजेदेखि यादवलाई हेर्न भन्दै पुगेको भिडले कलाकार नल्याएपछि यादवको टिमले प्रयोग गर्ने चार वटा स्करपियो जलायो । आक्रोशित भिडले एउटा मोटरसाइकल र सिटी सफारीमा पनि आगजनी गर्‍यो । आगजनी र तोडफोडबाट आफ्नो एक करोड ५० लाख भन्दा बढी नोक्सान भएको खेसरीलालले बताएका छन् ।

महोत्सव स्थलमा साउन्ड सिस्टम जडान गरेको एसएम साउन्ड सिस्टमले आफ्नो एक करोड ८ लाख हाराहारी क्षति भएको बताएको छ । महोत्सवको काउन्टर लुटपाट हुँदा आयोजकले टिकट विक्रीबाट सङ्कलन गरेको रकम पनि हराएको बताएको छ ।

महोत्सवमा तीन पक्षले क्षति भोगेका छन् । कलाकार र साउन्ड सिस्टम पक्षले क्षतिपूर्ति माग गरेका छन् । तर क्षतिपूर्ति कसले दिने भन्ने टुङ्गो छैन । मङ्गलवारको घटनाले आयोजक नै समस्यामा परेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मङ्गलवारको सम्पूर्ण घटनाको दोष आयोजकको भएको बताउँछन् । कोरोना महामारी नियन्त्रणका लागि प्रशासनले पटक पटक दिएको निर्देशन अवज्ञा गर्दै महोत्सव लगाएपछि मङ्गलवारको घटना भएको उनको भनाई छ । ‘आयोजकको गल्ती छ, क्षतिपूर्ति उनीहरूले तिर्नुपर्छ,’ उनले भने,‘ हामी अनुसन्धान गरिरहेका छौँ, दोषीलाई कारबाही हुन्छ ।’

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार प्रशासनले निर्देशन दिए पनि बर्जू गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले आफ्नो पालिकामा प्रशासनको निर्देशन नचल्ने भन्दै कार्यक्रम नरोक्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारी र पालिका प्रमुखबिचको खटपटले पनि घटनामा ठुलो क्षति भएको स्थानीय बताउँछन् ।

प्रमुख जिल्ला अधिकारीको लिखित निर्देशन अवज्ञा गर्दै बलजप्ती रूपमा कार्यक्रम गरेपछि प्रशासनले खेसरीलाललाई विराटनगरमै रोकेको थियो ।

Bigyapti 1