धरान : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सहिदहरूको त्याग र बलिदानबाट थुप्रै उपलब्धिहरू प्राप्त भएको र अझै पनि केही उपलब्धिहरू प्राप्त हुन बाँकी रहेको बताएका छन् ।

सहिद दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राणा शासन विरोधी आन्दोलनका सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायत लोकतन्त्र, जनअधिकार, न्याय, समानता र जनजीविका प्राप्तिका लागि नेपाली जनताले अघि बढाएको लामो र कठिन संर्घषका दौरानमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु भनेका छन् ।

राणा शासन सुरु हुनु अघिदेखि राणा शासनविरुद्धका आन्दोलन, पञ्चायती व्यवस्था अन्त्यका लागि गरिएको आन्दोलन, पछिल्लो गणतान्त्रिक आन्दोलन, जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलनहरूमा हजारौँ नेपाली जनताले ज्यान गुमाएका छन्, सहादत प्राप्त गरेका छन् । ती महान् सहिदहरूको त्याग र बलिदानको परिणामस्वरूप नै मुलुकमा गणतन्त्र, लोकतन्त्र, सङ्घीय शासन प्रणाली स्थापना हुनुका साथै विकास र समृद्धिको ढोका खुलेको सन्देशमा उल्लेख गरेका छन् ।

सहिदहरूको त्याग र बलिदानबाट थुप्रै उपलब्धिहरू प्राप्त भएका छन् भने अझै पनि केही उपलब्धिहरू प्राप्त हुन बाँकी छ । त्यसैले सहिद दिवसको आजको महत्त्वपूर्ण घडीमा सहिदका सपनाहरू पूरा गर्न र बाँकी उपलब्धिहरू प्राप्त गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउँदै मन, वचन, कर्मले इमानदारिताका साथ लागी परौँ भन्ने आह्वान पनि गर्न चाहन्छु सन्देशमा उल्लेख गरेका छन् ।

Sahid-Subhakamana