धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले भोलि देखि लागु हुने गरी फेरि नयाँ आदेश जारी गरेको छ ।

सुनसरीमा कोभिड सङ्क्रमणको दर पचास प्रतिशत माथि रहेकोले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा आज नयाँ आदेश जारी गरेको प्रशासनले जनाएको छ ।

माघ मसान्त सम्म सिनेमा हल, डान्स बार दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटी पार्लर र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू, विद्यालय, विश्व विद्यालय, कलेज, टयूशन सेन्टरहरूबाट भौतिक उपस्थितिमा सञ्चालन हुने तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू तर जनशक्ति भर्ना परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा जनस्वास्थ्यका मापदण्डहरूको पालना गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

यसै गरी आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलापहरू, जिल्लामा रहेका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका क्रियाकलापहरू गर्न नपाइने उल्लेख छ । यसै गरी धार्मिक वा सांस्कृतिक जात्रा पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, लगायतका अत्यावश्यक परम्परागत क्रियाकलापहरू सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने गरी तोकिएका जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण रूपमा पालना गर्ने गरी स्थानीय प्रशासनलाई पूर्व जानकारी दिएर मात्र सञ्चालन गर्न सकिने छ ।

जिल्लास्थित सेवा प्रदायक निकायहरूले सेवा प्रवाह गर्दा सेवाग्राहीहरूले अनिवार्य रूपमा कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोबाइलमा फोटो भए पनि हुने व्यवस्था अनिवार्य रूपमा लागू गर्ने, सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसलहरू एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, कुनै पनि सामानहरू अनावश्यक रूपमा नछुने, दुई व्यक्तिको बिचमा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने, मास्कको अनिवार्य उचित प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग लगायतका तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी गराइ सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

रङ्गशालामा दर्शक सहित नगरी नहुने पूर्व निर्धारित खेलकुदका कार्यक्रमहरू गर्दा एक पटकमा कुल क्षमताको एक–तिहाइ मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्नुपर्नेछ । त्यस्ता खेलकुद कार्यक्रममा खोपको मात्रा पूरा गरेका व्यक्तिहरूलाई मात्र खोप कार्डको आधारमा रङ्गशाला प्रवेश गर्न दिने । सकभर दर्शक विहीन रूपमा खेलकुद कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइएको छ ।

CDO-1 CDO-2