झापा : कलिलै उमेरबाट विद्यार्थी राजनीतिमा होमिएर माओवादी आन्दोलनमा योगदान गरेका योद्धा हुन्, रवि बस्नेत ।

३२ वर्षीय रवि क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष हुँदै झापाको नेतृत्व पनि गरिसकेका छन् । माओवादी केन्द्रको हालै सम्पन्न अधिवेशनबाट दमक अध्यक्षमा निर्वाचित भएका छन्, उनी । विद्यार्थी राजनीतिमा साङ्गठनिक कुशलता देखाएका बस्नेत प्रति पार्टीको ‘चाम’ फर्काउने चुनौती छ । वर्गीय धरातल बिर्सिएको पार्टीलाई पुनः पुरानै अवस्थामा फर्काउन लागि परेका छन् ।

माओवादी केन्द्र दमकले युवाको नेतृत्व पाएपछि पार्टी पनि क्रमशः जुरमुराउँदै अघि बढेको छ । पार्टीको अध्यक्ष भएको एक महिना पनि नबित्दै उनी दमकमा पार्टी सुदृढीकरणमा खटेका छन् । केही दिनअघि मात्र नगर कमिटीको बैठकबाट एक वर्षे कार्य योजना पास गरेका बस्नेत योजना कार्यान्वयनमा जुटेका छन् ।

कार्य योजना कार्यान्वयन स्वरूप सोमबारबाट नेकपा माओवादी केन्द्रले वडामा बैठक सुरु गरेको छ । सोमबार दमक–१ र २ नम्बर वडा कमिटीको बैठक सम्पन्न गरेको उनले बताए । अब लगातार पाँच दिनमा १० वटै वडामा बैठक गरेर कार्य योजना कार्यान्वयनमा अघि बढ्ने उनले बताए । दमकले युवा नेतृत्व पाए पछि धेरै पार्टी कार्यकर्ता र जनता खुसी भएको बताए ।

तर, आफूले पाएको जिम्मेवारीमा अवसरसँगै चुनौती पनि रहेको उनको भनाइ छ । ‘अध्यक्ष भएपछि धेरैले आस गर्नुभएको छ । मलाई त्यो उहाँहरूको अपेक्षा पूरा गर्ने चुनौती पनि छ । केहीले युवाले नेतृत्व पायो काम गर्न नसक्ने हो कि भनेर खबरदारी र आलोचना पनि गर्नुभएको छ ।

खबरदारी र आलोचनालाई पनि स्वीकार गर्दै विद्यार्थी राजनीतिको नेतृत्वदायी भूमिकामा रहँदा सिकेका कुरालाई पार्टी सुदृढीकरणको अभियानमा सदुपयोग गर्नेछ’, बस्नेतले भने । उनले पार्टीको अधिवेशनपछि कार्यकर्ता तहमा ऊर्जा आएको बताउँदै त्यो बचाइराख्न आफू लागि परेको बताए ।

पार्टीमा जनयुद्धको समयदेखि योगदान गर्नेको उचित सम्मान, उचित जिम्मेवारीसँगै नयाँ र युवा पुस्तालाई पनि जिम्मेवारी र अवसर दिँदै अघि बढ्ने प्रतिबद्धता जनाए ।