धरान : मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यही माघ १२ गते देखी घरैबाट एक्कासि हराएकी भनिएकी वृद्धाको हत्या पछि जलाएको भन्ने सूचनाको आधारमा सूक्ष्म अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाइहरूलाई जानकारी भए पश्चात् अदालतमा मुद्दा समेत परेको थियो ।

अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।