धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद्लाई विनियोजित बजेट कार्यान्वयन गर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् धरानका समिति तथा सल्लाहकार समूहको एक टोलीले मेयर तिलक राईलाई उनको कार्यकक्षमा भेटपछि बजेट कार्यान्वयनमा ढिलाइ भएको प्रति ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षण पछि मेयर तिलक राईले जसरी पनि विनियोजित बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । मेयर राईले अनुपयुक्त बजेट कटौती भए पनि आदिवासी जनजातिको लागि विनियोजन गरिएको बजेट कटौती नगर्ने प्रतिबद्धता जनाए ।

महासङ्घको टोलीले सामाजिक विकास महाशाखाले गत मङ्सिर १० गते विनियोजित बजेट कार्यान्वयनको लागि प्रस्ताव आह्वान गरेको थियो । जातीय संस्थाले प्रस्ताव हालेको करिब २ दुई महिना बितिसक्दा पनि कार्यान्वयनको लागि मौन बसेको देखिएपछि महासङ्घको टोलीले मेयर राईलाई ध्यानाकर्षण गराएको हो ।

धरान उपमहानगरपालिकाको आन्तरिक बजेट घाटा रहेको तथा कोरोनाको कारण बजेट कटौती हुने आशङ्का भएपछि महासङ्घको टोली मेयरलाई ध्यानाकर्षण गर्न पुगेको हो ।

नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् धरानमा हाल १३ वटा जातीय संस्था रहेका छन् । धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । टोलीमा सचिव हेमराज जिमी जातीय संस्थाका अध्यक्ष मनोहर शाक्य, गोपाल सुनुवार आदिवासी जनजाति समितिका सदस्य अनुप देवान सल्लाहकार चित्रराज थापामगर, तेन्जिङ शेर्पा, निमा पोङ्स्युवा लगायतको उपस्थिति रहेको थियो ।