धरान : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तामाङ जातिको महान् चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्य मन्त्री राईले एक सन्देश जारी गर्दै तामाङ जातिको महान् चाड सोनाम ल्होसारको सुखद अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरू सहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ जातिको नयाँ वर्ष हो । प्रकृति पूजक तामाङ जातिले सोनाम ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्दछन् । ल्होसारका दिन यो समुदायमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने चलन छ । सोनाम ल्होसारका अवसरमा घर–आँगन सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताका टाँगेर पूजा अर्चना गरिन्छ । त्यस्तै परम्परागत पहिरनमा सजिएर एकै ठाउँमा भेला भई तामाङ सेलो गाएर नाचगान रमाइलो गरिन्छ ।

नेपाल सदियौँदेखि बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक मुलुकका रूपमा रहेको छ भन्दै मुख्यमन्त्री राईले यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यति मात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा सहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सोनाम ल्होसारका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख छ ।

CM-Subhakamana