विराटनगर : एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै आज विराटनगरमा सडक बहस गरेको छ ।

विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरूको भनाई छ । प्रदेश १ का पूर्व महान्यायाधिवक्ता चूडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप गर्नेगरी निर्णय गर्न नसक्ने बताए । संविधानले एक दिन पनि जनप्रतिनिधि विहिन स्थानीय तहको परिकल्पना नगरेको उनको भनाई छ ।

सरकारको भजन गाउने कानुन व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम भइरहेको उनको भनाई छ । उनले अविलम्ब निर्वाचनको मिति घोषणा हुनुपर्ने बताए ।

अर्थशास्त्री प्रा.डा. अर्जुन बरालले संविधानको व्यवस्था अनुसार तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरे । उनले स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउन नहुनेमा जोड दिए । देशमा आर्थिक अवस्था कमजोर भइरहेका समयमा भ्रष्टाचार बढ्दो अवस्थामा रहेको उनले बताए । सरकार भ्रष्टाचार रोक्न उदासीन देखिएको उनको आरोप छ ।

डा. बरालले प्रदेश १ सरकारले आर्थिक भार पर्ने गरी मन्त्रालय थप गर्ने कार्य सुरु गर्नु गलत भएको बताए । उनले भने,‘ सरकारको यो कदमको सबैले विरोध गर्नुपर्छ ।’ मानव अधिकारकर्मी सोमराज थापाले समयमा निर्वाचन नहुँदा मुलुक अस्थिरता तर्फ जाने बताए ।

उनले संविधान अनुसार निर्धारित मितिमै निर्वाचन हुनुपर्ने माग गरे । सत्तालाई टिकाउनका लागि निर्वाचनको मिति पर सार्न नमिल्ने थापाको भनाई छ । पत्रकार यज्ञ शर्माले वर्तमान सरकार निर्वाचनमा जान डराइरहेको बताए ।

चौतर्फी दबाबपछि सरकार स्थानीय तहको निर्वाचन जेठमै गर्नुपर्ने मनस्थितिमा देखिए पनि निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेको उनको भनाई छ । निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेकाले जनदबाब आवश्यक रहेको शर्माको भनाई छ ।

कार्यक्रममा उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङेल, अनेरास्ववियुका उपमहासचिव भास्कर खनाल, अनेरास्ववियु सचिवालय सदस्य गोकर्ण घिमिरे लगायतले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा हुनुपर्ने बताएका थिए ।

सचिवालय सदस्य घिमिरेले स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गर्दै अनेरास्ववियुले निरन्तर खबरदारी गरिरहने बताए ।