धरान : केही दिन देखि मौसममा आएको परिवर्तनसँगै तीनजुरे क्षेत्रमा भारी मात्रामा हिमपात भएपछि शनिवार हिउँ खेल्नेको घुइँचो लागेको थियो ।

लगातार दुई दिन देखि मौसममा आएको परिवर्तनसँगै केही दिन देखिनै हिउँ पर्न थालेको थियो । शनिवार बिदाको दिन परेकोले हिउँदे झरीसंगै परेको हिमपातमा रमाउन पूर्वका विभिन्न ठाउँबाट तीनजुरे मानिसहरू पुगेका थिए । झरी र हिमपातको प्रवाह नगरी हिउँमा रमाउँदै वनभोज खानेहरूको सङ्ख्या पनि उल्लेख्य रहेको वसन्तपुरका सञ्चारकर्मी चन्द्र कार्कीले बताए । उनका अनुसार वसन्तपुर बजार त्यसै पनि चिसो तर आजको मौसम अझ धेरै चिसो माइनस नै तापमान रहेको उनले बताए । 

यस पटक विगतका वर्षहरूको तुलनामा बढी हिमपात भएको स्थानीयवासी बताउँछन् । यो पटक भने धनकुटाको गुराँसे सम्म हिमपात भएको छ । धनकुटाको गुराँसे, सिधुवा, नुनथला, पट्याक, वसन्तपुर, चित्रे, र तीनजुरे, चौकी, मङ्गलवारे, गुफापोखरी लगायतका स्थानमा बाक्लो हिमपात भएको छ । 

बाक्लो हिमपातका कारण उच्च पहाडी क्षेत्रमा जनजीवननै प्रभावित भएको छ । वृद्ध र बालबालिकालाई निकै समस्या भएको गुफापोखरीकी हिमा खनालले बताइन् । कहिले काहीँ मात्रै हिउँ पर्दा त निकै रमाइलो नै लाग्थ्यो तर निरन्तर हिमपात भइरहँदा भने जनजीवन मात्रै होइन बस्तुभाउ जोगाउन पनि निकै समस्या भएको खनालले बताइन् । 

Hiung-1

Hiung-5

Hiung-2

Hiung-6

Hiung-3