धरान : गायिका समीक्षा अधिकारीलाई  जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आत्मसमर्पण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै 'आइतबार प्रहरीसामु आफैँ उपस्थित हुने' बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पुर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु-२’ गत शुक्रवारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन् ।

एउटा म्युजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबरजस्ती करणी गरेको अभियोग शाहमाथि छ ।