झापा : मोफसलकै लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्डकप, २०७८ को तयारी पूरा भएको छ ।

बिर्तामोडमा रहेको डोमालाल रङ्गशालामा २१ फागुनदेखि ३० फागुनसम्म सञ्चालन हुने खेललाई उत्कृष्ट, भव्य र परिस्कृत बनाउने उद्देश्यले सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

प्रतियोगितालाई सफल बनाउन जिल्लाभर स्वागत गेट निर्माण गरिएको छ भने बिर्तामोड नगरपालिका आसपास मात्र एक दर्जन गेट बनाइएको गोल्डकप सञ्चालन समितिका संयोजक विनोद बस्नेतले बताए । उनका अनुसार प्रतियोगितामा घरेलु टोली झापा–११ सहित ए डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्रीस्टार, सङ्कटा, सातादोबाटो र जावलाखेल युथ क्लब सहभागी हुनेछन् ।

गोल्डकपमा दुई टिम एफसी दार्जिलिङ र आरपी एफसी सिक्किमसहित १० टिम रहने बस्नेतले जानकारी दिए । ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्ड हाम्रा शान’ भन्ने नारासहित सञ्चालन हुने पाँचौँ झापा गोल्डकपको औपचारिक मस्कटका रूपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल प्रहार गर्दै गरेको प्रतीकका रूपमा मस्कट निर्माण गरिएको छ ।

गोल्डकपका लागि तयार गरिएको जर्सी झापा जिल्ला खेलकुद सङ्घका पूर्वअध्यक्ष जलकुमार गुरुङ र गोल्डकप समितिका पूर्वअध्यक्ष महेन्द्र गिरीले सार्वजनिक गरेका छन् ।

गोल्डकप विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न १ करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ दिइने भएको छ ।