धरान : धरानका दृष्टि विहीन गायक गगन आलेले आज धरान-१० मा रहेको कफी पब एण्ड रेष्टोमा प्रस्तुती दिने भएका छन् ।  

उनी ७ वर्ष हुँदा देखि गीत गाउन थालेका हुन । धरान-८ वरगाछिमा फुपूको घरमा बस्दै आइरहेको गगन हाल धरान-८ स्थित ल्यावोटरी स्कुलमा कक्षा १२ मा अध्ययन गर्दैछन । गायनमा सौखिन गगन विभिन्न कन्सर्टहरूमा गाउँदै आइरहेका छन् । गगनले आफै गिटार बजाएर प्रस्तुति दिने गरेका छन् । उनको सङ्गीतमा रुचि र सम्भावना देखेर करिब आठ महिना देखि उनलाई धरान सङ्गीत प्रतिष्ठानले छात्रवृत्तिmमा सङ्गीत पनि सिकाइरहेको छ । 

उनै गगनले आज धरान-१०, पुतली लाइन स्थित कफी पब एण्ड रेष्टोमा आफ्नो प्रस्तुति दिने भएका छन् । उनले आज साँझ ७ बजे देखि साढे नौ बजे सम्म प्रस्तुति दिने कफी पब एण्ड रेष्टोका सञ्चालक शिशिर राईले जानकारी दिए । उनले नेपाली, हिन्दी र अङ्ग्रेजी गीत गरी डेढ दर्जन गीत गाउने बताइएको छ । 

यही फागुन १ देखि सञ्चालनमा आएको कफी पब एण्ड रेष्टोले स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्न तथा व्यवसायीक रूपमा अगाडि बढाउनका लागि पनि धरानका कलाकारहरूलाई पहिलो प्राथमिकता दिइरहेको सञ्चालक राईले बताए ।

पवले हरेक शुक्रवार साँझ अनप्लग लाइभ म्युजिक आयोजना गर्दै आइरहेको छ । मन्द म्युजिक र सङ्गीतमा ग्राहकहरूले खाना र म्युजिक माहौलको आनन्द लिन सक्ने हुनाले अनप्लग लाइभ म्युजिक मात्र गरिएको सञ्चालकले जनाए ।