धरान : 'परिवर्तनका लागि सामाजिक अभियान' धरानले हरेक महिनाको पहिलो र तेस्रो शनिवार आयोजना गर्ने गरेको सामाजिक स्वास्थ्य क्लिनिकको एघारौँ संस्करण आज धरानको गीता भवनमा सम्पन्न गरेको  छ । 

मुटु, रक्तचाप र मधुमेहका ७० वर्षभन्दा माथिका बिरामीहरूलाई लक्षित गरी  आयोजना गरिएको सो सामाजिक स्वास्थ्य क्लिनिक २ नम्बर वडा कार्यालय धरानको सहकार्यमा सम्पन्न भएको हो । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार धरानका हरेक वडामा आयोजना गर्ने उद्देश्य राखिएको यो कार्यक्रम गत फागुन ७ गते धरान १८ नम्बर वडामा सम्पन्न भइसके पश्चात् यसपल्ट वडा नम्बर २ मा सम्पन्न भएको बताए । 

अभियानद्वारा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहसँग समन्वय गरी आयोजना गरिएको उक्त सामाजिक स्वास्थ्य क्लिनिकमा जम्मा ७७ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । २ नम्बर वडाका अध्यक्ष माधव गोविन्द श्रेष्ठले यस्तो कार्यक्रमले वास्तवमै जनताको स्वास्थ्य स्थितिमा परिवर्तन र सचेतना ल्याउने बताए । श्रेष्ठले २ नम्बर वडा कार्यालयसँग सहकार्य गरी कार्यक्रम आयोजना गरेकोमा डा. साह एवम् आयोजक संस्था प्रति पनि आभार व्यक्त गरे । 

अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त सामाजिक स्वास्थ्य क्लिनिकमा मोहन श्रेष्ठ, भोजराज श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, निशान नेपाल, हेमचन्द्र ढकाल, राजेन्द्र रिजाल लगायत अभियन्ताहरूको उपस्थिति रहेको थियो । त्यसै गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स रमला गुरागाईँको समेत स्वास्थ्य जाँचमा सहभागिता रहेको थियो । 

बिरामीहरू धरानकै स्थानीय भएर पनि वीपी प्रतिष्ठानमा समयमा उपचार गराउन नआएकोमा डा. प्रशान्त साहले चिन्ता व्यक्त गरे । “अस्पताल नजिकै छ, तर पनि मुटुका बिरामीहरू एक डेढ वर्षसम्म पनि फलोअपमा आउन अप्ठ्यारो मान्नुहुन्छ” डा. साहले भने । यस्ता सामाजिक क्लिनिकमा भए पनि बिरामीहरू आउनुभएकोमा डा. साहले खुसी व्यक्त गर्दै भने “बिरामीहरू खानपानमा सचेत हुनु पर्छ र यस्तै सामाजिक क्लिनिकमा भए पनि फलो अप गर्नु साह्रै राम्रो कुरा हो । ”

घर आँगनमै स्वास्थ्य जाँच गराउन पाएकोमा धरान–२ निवासी खजाञ्जीदास अग्रवालले खुसी समेत व्यक्त गरे । कार्यक्रमको समापन समारोहमा वडा नम्बर २ का वडा सदस्य सन्ध्या श्रेष्ठले आयोजकलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।