इटहरी : सुनसरीको रामधुनी नगरपालिका ३ कि ७ वर्षीय बालीका बलात्कृत भएकी छिन् । छिमेकीको घरमा मोबाइल चलाउने जाने गरेकी उनलाई सोही घरका युवाले बलात्कार गरेका हुन् । 
ललाईफकाई  छिमेकी विश्वमणि आचार्यले बलात्कार गरेको पीडित बालीकाको भनाई छ । "चकलेट दिन्छु । पैसा दिन्छु भन्दै गर्नुभयो, मैले धेरै कराएँ, जति ऐया भन्छु त्यति सारो मुख थुनेर गर्नुभयो । अनि अरूलाई भनीस भने मार्दिन्छु भन्नु भएको छ । पसलमा एक चोटि अनि दादाकै कोठामा एकचोटी गर्नुभयो” उनले भनिन्।
छिमेकी दाईबाट बलात्कृत भएका बालीका अहिले पनि झस्किन्छिन् । “मलाई मार्दिन्छु भनेको छ” भन्दै चिच्याउँछिन् उनी । दुई पटक सम्म बलात्कृत भएर पनि कसैलाई भन्न नसकेकी उनले सुरुमा आफ्नै दाइलाई सुनाएकी हुन् । 
दिशापिशाव गर्दा पोल्ने र रगत बग्ने समस्या देखिएपछि आमाले उनको उपचार गरिन् । केही समस्या भएको होला भनेर आमाले पनि वास्ता गरिनन् । बालीकाले पनि भनिनन् । स्थानीय मेडिकलमा औषधी खाएपछि उनको शरीरको घाउ निको भयो । तर मनको घाउ भने झनै बल्झिँदै गएको छ । 
पुषको दोस्रो साता भएको बलात्कारको घटना भर्खरै मात्र बाहिर आएको हो । माघ २८ गते घटनाबारे जानकारी पाएका बालीकाकी आमाले २९ गते प्रहरीमा उजुरी दिएकी थिइन् । 
बालीकाका बा लामो समय देखी बिरामी रहेका कारण घटनाबारे कसैले जानकारी नगराएको परिवारको भनाई छ । तर गाउँभरि हल्ला फैलिएपछि उनले थाहा पाएको हुनसक्ने उनीहरूको अनुमान छ । 
उपचारको क्रममा विराटनगर गएर फर्कने क्रममा उनी इटहरी ३ स्थित दिदीको घरमा पुगेका थिए । सहोदर दाइसँग दिदीको घर पुगेका उनले राती नजिकै रहेको काका काकीको घरमा जाने जिद्दी गरे । राती १ बजेसम्म बाहिर भित्र गरिरहेका थिए । सँगै सुतेका उनका दाइले सबै कुरा चाल पाइरहेका थिए । अन्तिम पटक उनी ट्वाइलेट जाने सङ्केत गर्दै ओछ्यानबाट निस्किए । तर लामो समय नआएपछि दाइले खोज्न थाले । बाहिर भित्र नभेटिएपछि माथिल्लो तल्लामा पुग्दा उनी झुन्डिएको अवस्थामा भेटिए । रातको समयमा दाजु चिच्याए । बिरामी श्रीमान्को आत्महत्याले बालीकाकी आमा झनै विछीप्त भइन् । परिवारमा ठुलो बज्रपात परेको छ । 
भाइको उपचारमा खटिएका दाजु अहिले किरियामा बसेका छन् । घरको ऋण, छोरीको बलात्कार र श्रीमान्को मृत्युले विछीप्त छिन् बालीकाकी आमा । सधैँ मिलेर बसेका छिमेकमै अपराधी जन्मिएपछि उनी झनै पिरोलिएकी छिन् । ऐचोपैचो र अर्मपर्म चल्ने छिमेकी दुस्मन भएका छन् । अत्यन्तै सहयोगी दुई परिवार बिचको सम्बन्ध पीडित र पिडकमा परिणत भएको छ । 
उजुरी परेपछि विश्वमणि आफै फाल्गुन २० गते इलाका प्रहरी कार्यालय पकली पुगे । २० गते शनिवार परेकाले एक रात थुनामै रहेका उनलाई आइतबार प्रहरीले म्याद थपको लागी जिल्ला अदालत इनरुवा पुर्‍यायो । प्रहरी कार्यालय प्रमुख प्रकाश श्रेष्ठका अनुसार ७ दिनको म्याद थप भएको र थप अनुसन्धान भइरहेको छ ।