धरान : सुनसरीको धरानमा आयोजना हुने हुने इष्ट टुरिजम मार्ट २०२२ लाई प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको प्रतिनिधि मण्डल भारतको पश्चिम बङ्गाल र विहारतर्फ प्रस्थान गरेको छ। 
सिलिगुडीमा शनिवारदेखि तीन दिनसम्म आयोजना हुने बङ्गाल ट्राभल मार्टमा पूर्वका व्यवसायीहरूले पूर्वको पर्यटन प्रवर्धन गर्न पुगेका छन् । सो मार्टमा विराटनगर, धरान, इटहरी, काकरभिट्टा, दमक, बिर्तामोडलगायत स्थानबाट पर्यटन व्यवसायीहरू सहभागी भएका छन् । मार्टमा नेपाल पर्यटन बोर्डले नेपाली व्यवसायीहरूका लागि स्टल उपलब्ध गराएको थियो ।
बङ्गाल ट्राभल मार्टमा भएको सहभागिताले पूर्वी नेपालको प्रवर्धनमा प्रभाव परेको इष्ट टुरिजम मार्टका संयोजक भविष श्रेष्ठले बताए । बङ्गाल ट्राभल मार्टमा पूर्वी नेपालका मुख्य ग्राहकहरू हुनसक्ने बङ्गाल सिक्किम र उडिसाका ट्राभल एजेन्टहरू सँगको प्रवर्धनले आफूहरू उत्साहित भएको श्रेष्ठले जानकारी दिएका छन् । 
बङ्गाल ट्राभल मार्टमा सहभागी भएको सो टोली इष्ट टुरिजम मार्टको प्रचार प्रवर्धन गर्न विहारको किशनगञ्ज पूर्णिया कटिहार र दरभंगा जाने भएको छ। विहारका ती स्थानहरूमा गएर त्यहाँका व्यवसायीहरूलाई मार्टको निम्तो दिने र पूर्वको प्रवर्धन गरिने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का प्रदेश अध्यक्ष उदय श्रेष्ठले बताए । 
इष्ट टुरिजम मार्ट-२०२२ आगामी चैत ११, १२ र १३ गते धरानमा हुन लागेको छ। मार्टको यो तेस्रो संस्करण हो । सन् २०१८ र २०१९ मा आयोजना भएको मार्ट कोरोनाका कारण बिचका वर्षमा आयोजना हुन सकेको थिएन । कोरोनाको कारण ठप्प भएको पर्यटन व्यवसाय मार्ट जस्ता क्रियाकलापले गति लिन सक्ने संयोजक श्रेष्ठका भनाई छ । 
बङ्गाल र बिहार भ्रमण कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डले गरेको हो । यस्ता कार्यक्रमले व्यवसायीहरूमा ऊर्जा सञ्चार हुने र उत्साह बढ्ने बोर्डका प्रबन्धक उदय भट्टराईले बताए । भट्टराईले भने,“पूर्वका मुख्य आगन्तुक विहारी र बङ्गाली हुन् उनीहरूबिच भेटघाट र छलफलले पूर्वको पर्यटनमा सकारात्मक प्रभाव पर्नेछ ।”
east-tourisam--2022
east-mart-3