इटहरी : कोरोना कहरले थलिएको नेपाली चलचित्र उद्योग यति बेला बिस्तारै उठ्ने क्रममा छ। नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यति बेला चलचित्रकर्मीहरूमा नयाँ जोस देखिएको छ। त्यसै अनुरूप होलीलाई मध्यनजर गरेर यही चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र 'चिसो एस्ट्रे' यति बेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ। चलचित्रको प्रचारकै निम्ति प्रदेश १ आइपुगेको निर्माण युनिटले विराटनगर मा 'विराटनगर इन्टरनेसनल कलेज' र इटहरीको 'इटहरी इन्टरनेसनल कलेज'मा 'कलेज क्याम्प' गरेको छ भने इटहरीमा पत्रकार सम्मेलन समेत गरेको छ।
प्रचारप्रसारका लागि चलचित्रकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता निकुन श्रेष्ठ र कार्यकारी निर्माता महेशबाबू तिमिल्सिनाको उपस्थिति रहेको थियो । विराटनगर र इटहरीको कलेज क्याम्पमा निर्माण युनिटले छायाङ्कनका क्रममा गरिएको व्यवस्थापन पक्ष र सो बेलाको आरोह-अवरोहलाई कलेजका बिद्यार्थीहरु माझ प्रस्तुत गरिएको थियो । त्यस्तै चलचित्रको ट्रेलर समेत देखाउँदै कलेज क्याम्पमा निर्माण युनिटले 'चिसो एस्ट्रे'लाई हलमा हेर्दै नेपाली चलचित्रलाई माया गर्न आग्रह गरे।
यस्तै इटहरी र धरानका पत्रकारहरू उपस्थित रहेको पत्रकार सम्मेलन इटहरीमा अवस्थित 'पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन'को कार्यालयमा आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कार्यकारी निर्माता तिमिल्सिनाले 'कोरोनाले गर्दा चलचित्र प्रदर्शनमा ल्याउन ढिलो भए पनि नेपाली दर्शकहरूले रुचाउने विषय भएको' जानकारी दिए । यस्तै चलचित्र प्रचारप्रसारका लागि प्रदेश १ आइपुगेकी चिसो एस्ट्रेकी प्रमुख नायिका श्रेष्ठले चलचित्रले नेपाली दर्शकहरूको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन् ।
पत्रकार सम्मेलनमा उपस्थित भएका अभिनेता निकुनले पनि 'गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने कुरा चलचित्रले प्रस्तुत गर्ने' र ७ वर्षको अन्तरालमा धेरै दुख र मेहनत सहित निर्माण सम्पन्न भएको यो चलचित्रले दर्शकहरूको लगानी उठाउनेमा कुनै शङ्का नरहेको उनले बताए । चलचित्र चिसो एस्ट्रे कवि भूपी शेरचनको कविता 'चिसो एस्ट्रे'बाट प्रभावित भएर निर्माण गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्माता तिमिल्सिनाले बताए । उनले भने 'नेपालमा साहित्यबाट प्रभावित भएर चलचित्र बनाउने कार्य कमै हुन्छ, आफू पनि साहित्य तथा चलचित्रका क्षेत्र रुचि राख्ने मानिस भएको कारण चिसो एस्ट्रे कविताबाट प्रभावित भएर सोही शीर्षकमा चलचित्र निर्माण गरेको हो।'
दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा सृष्टि श्रेष्ठ र निकुन श्रेष्ठको अलावा दिव्य देव, सुशील पाण्डे, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ। दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जङ्गमको सङ्गीत छ। कङ्गारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्। सह-निर्मातामा भने रुपेश ढुङ्गाना, नवीन ढुङ्गाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ। उज्जल बस्ताकोटीको छायाङ्कन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।