धरान : कथाकार दाजु गुरुङको डायस्पोरिक कथा कृति 'लाइ–सी'को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । 

प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको आयोजना र भयवाद अध्ययन केन्द्रको सह आयोजनामा शुक्रवार धरान-१४ विजयपुरमा भएको सो कार्यक्रममा कथाकार दाजु गुरुङद्वारा लिखित कथा सङ्ग्रह 'लाइ–सी' को बारेमा परिचर्चाकार गिरिराज खतिवडा, दीपकप्रसाद न्यौपाने, सागरमणी सुबेदी र बम देवानले परिचर्चा गरेका थिए । कथा सङ्ग्रह 'लाइ–सी' हङकङमा बस्ने नेपालीहरूको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने र त्यहाँका नेपालीहरूको जनजीवनमा आधारित भएको परिचर्चाकारहरूले बताएका थिए । 

वरिष्ठ कवि अनिल पौडेलको प्रमुख आतिथ्ययतामा सम्पन्न सो कार्यक्रममा कथाकार दाजु गुरुङको यो कथा सङ्ग्रहले नेपाली साहित्यमा एउटा इँटा थप्ने कार्य भएको बताए । 

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसमा विविएस तर्फ स्नातक अध्ययन गर्दै गरेका लिजा तामाङलाई छात्रवृत्ति प्रदान गरिएको छ । धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी, धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, प्रा.डा. गोपालप्रसाद भण्डारी, धरान उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रज्ञा अम्बिका सम्बाहाम्फे लगायतले बोलेका थिए ।

प्रज्ञा अम्बिका सम्वाहाम्फेले धरानमा कला, साहित्य र सङ्गीतको क्षेत्रमा प्रज्ञा प्रतिष्ठान धरानले जति गर्नुपर्ने हो गर्न नसकेको बताउँदै धरान उपमहानगरपालिकाबाट गठन भएको भए पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले साथ सहयोग नगरेको बताए । 

इन्दिरा मिश्रको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा भाषा, संस्कृति र साहित्यमा योगदान गरेको भन्दै धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले र सामाजिक अभियन्ता गणेश देवान, गायक गङ्गा वरदान लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न गीत सङ्गीत पनि प्रस्तुत गरिएको थियो । 

Lic-2Lic-3