पाँचथर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले अमेरिकी विकाश परियोजना एमसीसीको विषयमा कार्यकर्तालाई जवाफ दिएका छन् । 
नेपाली काँग्रेसको केन्द्रीय प्रतिनिधिको रूपमा पाँचथर पुगेका उनले कार्यकर्ताको जवाफ दिँदै एमसीसी विकाश परियोजना मात्र भएको प्रष्ट पारे । 
छलफलमा उपस्थित अधिकांश नेता कार्यकर्ताले एमसीसीको बारेमा प्रश्न गरेका थिए । कार्यकर्ताको जवाफ दिने क्रममा उनले एमसीसी विशुद्ध विकाश परियोजना भएको र कम्युनिस्ट नेताहरूको दोहोरो चरित्रको कारण भ्रम फैलिएको बताए । 
आइतबार देखी औपचारिक रूपमा सुरुहुने 'घरघर जाऔँ काँग्रेस जिताऊँ' अभियानको क्रममा पाँचथर प्रतिनिधिको रूपमा ढुङ्गाना सक्रिय भएका छन् । भर्खरै सम्पन्न १४ औँ महाधिवेशनको क्रममा विजयी हुने नेताहरूले पराजितको मन जितेर पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए ।  
२०७४ को स्थानीय तह निर्वाचनमा पाँचथर जिल्लाभरका ८ वटा पालिका मध्ये अब कम्तीमा ६ वटामा विजयी गर्ने काँग्रेसको लक्ष्य छ । ढुङ्गानाको उपस्थितिमा शुक्रवार बसेको जिल्ला कार्य समिति बैठकले जिल्ला भरिका ६० वटै वडामा प्रतिनिधि पठाउने निर्णय गरेको छ । 
कार्यक्रममा पाँचथर जिल्ला सभापति रूपनारायण जबेगु, निवर्तमान जिल्ला सभापति नरेन्द्र केरुङ लगायतले धारणा राखेका थिए। विभिन्न दातृसंस्थाका प्रतिनिधि सहितको छलफलमा ढुङ्गानाले केन्द्रीय कार्यसमितिले तयार पारेको ८ बुँदे कार्यसूची बारे प्रस्ट पारे ।