धरान : धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता चैत्र १५ गते देखि १९ गते सम्म हुने आयोजकले आज धरान १० पुतली लाइन स्थित कफी पब एण्ड रेष्टोमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

अध्ययन सँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत सँगै अगाडि बढाउनका लागि खेल र खेलाडीको सम्मान गर्दै बास्केटबल प्रतियोगिता आयोजना गर्न लागिएको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडीलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफी पब एण्ड रेष्टोको फुड भौचर, ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ  । उत्कृष्ट स्कोरर र उदीयमान खेलाडीले ट्रफ्रि, कफी पब फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता धरान बास्केटबल सङ्घको संयोजन, सुनसरी बास्केटबल सङ्घ र धरान १२ नम्बर वडाको सहयोगमा धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा हुनेछ । प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका करिब १२ टिमले सहभागिता जनाउने आयोजक धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी दिए ।

सहभागी टिममा १९ वर्ष मुनिका ११ र १२ कक्षाका ६ जना र १० कक्षा सम्मका ६ जना खेलाडी हुनपर्नेछ ।  १० कक्षा सम्मका हकमा भने १२ जना खेलाडी नै सहभागिता जनाउन सक्नेछन् । दिवङ्गत उदयमान खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । बास्केटबल खेलमा सम्भावना बोकेका उदीयमान खेलाडी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।

दश कक्षामा अध्ययन गरिरहेको रेवाहाङ राईको असामयिक निधन पछि उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन र धरान बास्केटबल सङ्घको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए ।

प्रतियोगिता आयोजनाका लागि रेवाहाङका अभिभावकले दुई लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिसकेको छ । यस वाट आएको व्याज रकम, आयोजक धरान मेघा कलेज र धरान बास्केटबल सङ्घको व्यवस्थापनबाट प्रतियोगिता आयोजना हुनेछ ।

प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन हुने

प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । 

पहिलो चरणमा थ्री पोइन्टमा सहभागीले १ मिनेट थ्री पोइन्ट सट गर्नेछ ।  त्यस मध्येबाट उत्कृष्ट तिन खेलाडी छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्येबाट एक मिनेटमा जसले बडी थ्री पोइन्ट बास्केट गर्नेछ उही थ्री पोइन्ट च्याम्पियन घोषित हुनेछ । थ्री पोइन्ट च्याम्पियनले नगद दुई हजार, कफी पब फुड भौचर, ट्रफि र मेडल प्राप्त गर्नेछ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, रेवाहाङको बुवा रेवतिरमण राई, धरान मेघा हिमालयनका प्राचार्य भास्कर पौडेल , प्रदेश १ बास्केटबल टिम कप्तान नवीन राई, बास्केटबल खेलाडी हेमन्त राईको समेत उपस्थिति रहेको थियो ।