धरान : रङ्गको पर्व होलीको अवसरमा कफी पब एण्ड रेष्टोमा होली हङ्गामा लेडिज नाइट हुने भएको छ । 

नव कलाकारहरूलाई अवसर दिँदै आइरहेको कफी पवले शुक्रवार होली पर्वको अवसरमा चार जना महिला कलाकारहरूको एक साथ प्रस्तुति सहित होली हङ्गामा कार्यक्रम हुन लागेको हो । शुक्रवार साँझ देखि सुरु हुने साङ्गीतिक कार्यक्रममा धरानकी खेसेहाङ्गमा लिम्बु, दिव्य राई, सुमि सुनुवार र जुनकिरी गुरुङको प्रस्तुति रहनेछ  ।

चारै जना कलाकार लामो समय देखि सङ्गीतमा लागे पनि बाहिर आएका छैनन् । उनीहरूको कलाकारितालाई प्रोत्साहन गर्न पनि होली पर्वको अवसर पारेर कार्यक्रमको आयोजना गर्न लागिएको कफी पब एण्ड रेष्टोका सञ्चालिका रोमकुमारी लिम्बुले बताइन् । उनीहरू चारै जना धरान म्युजिक एकेडेमीका विद्यार्थी हुन । उनीहरूलाई विनायक राईले सङ्गीत शिक्षा दिइरहेका छन् ।

धरान १० निवासी खेसेहाङ्गमा लिम्बु सानै देखि गायनको सौखिन भए पनि घर व्यवहारको कारण यस क्षेत्रमा लाग्न सकिनन् ।  गृहिणीको रूपमा रहेको उनी हाल व्यवसायमा लागे पनि केही समय देखि समय निकालेर सङ्गीत शिक्षा लिन थालेकी छिन ।

यसै गरी धरान १५ निवासी दिव्य राई लामो समय हङकङ बसेकी हुन । एक दशक हङ्गकङ्ग बसी एक वर्ष अघि घरायसी कामले धरान घर आएकी हुन । उनको पनि सङ्गीतमा रुचि भए पनि यस क्षेत्रमा लाग्न सकेकी थिइनन् । उनी पनि केही समय देखि सङ्गीत शिक्षा लिइरहेकी छिन ।

धरान १० निवासी सुमि सुनुवार धरानको कलाकारितामा उदाउँदै गरेकी कलाकार हुन । उनले धरानको धेरै स्टेजमा आफ्नो प्रस्तुति दिइसकेकी छिन । सङ्गीत शिक्षा लिइरहेकी उनी होलीको अवसर पारेर आयोजित होली  हङ्गामा कार्यक्रमको तयारी गरिरहेको वताउछिन ।

सङ्खुवासभाको खाँदवारि घर भएकी जुनकिरी केही समय अघि मात्र धरान आएकी हुन । उनको पनि गायन सोख रहेको वताउछिन । घर व्यवहारको कारण गायन क्षेत्रमा लाग्न नसकेकी उनी केही समय अघि देखि भने धरानमा सङ्गीत शिक्षा लिइरहेकी छिन ।