धरान : परिवर्तनका लागि सामाजिक अभियानले १२ औँ संस्करणको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ । 

धुलिखेल समाज, धरानको सहकार्यमा धरान–१ मा सम्पन्न उक्त क्लिनिकमा जम्मा ७१ जना ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराएका थिए । 

परिवर्तनका लागि सामाजिक अभियानले हरेक महिनाको पहिलो र तेस्रो शनिवार आयोजना गर्ने यो निःशुल्क क्लिनिक धरान–१ स्थित धरान मोडल कलेजमा आयोजना गर्दै आएको थियो । विगतका ३ संस्करणका कार्यक्रमहरू वडा वडामा आयोजना गर्ने अभियान अनुरूप १८ नं. वडा, २ नं. वडामा सम्पन्न भइसकेको र आज धरान–१ स्थित धुलिखेल समाजको सहकार्यमा आयोजना भएको हो । 

अभियानका अध्यक्ष विष्णु बरालले “समुदायमा सामाजिक स्वास्थ्य क्लिनिक निक्कै नै प्रभावकारी र फलदायी बन्दै गएको” बताए । अस्पतालमा लाइन लागेर उपचार गराउन नसक्ने ७० वर्ष भन्दा माथिका बुवाआमाहरुका लागि यो कार्यक्रमले सहजता प्रदान गरेको पनि बताएका छन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण हुने उक्त सामाजिक क्लिनिकमा विशेष गरी मुटु, उक्त रक्तचाप र सुगरको परीक्षण हुने कार्यक्रमका संयोजक त्रिभुवन बरालले बताए । 

परिवर्तनका लागि सामाजिक अभियानमा आबद्ध मोहन श्रेष्ठ, वर्षा अग्रवाल श्रेष्ठ, भोजराज श्रेष्ठ, त्रिभुवन बराल, जेनिश शाक्य, विजय श्रेष्ठ, निशान नेपाल, हेमचन्द्र ढकाल, राजेन्द्र रिजाल, ऋषिराम भट्टराई, सुष्मन श्रेष्ठ, आशिषराज यादव लगायतका अभियन्ताहरूको सक्रिय  सहभागिता रहेको उक्त क्लिनिकमा ब्लड प्रेसर जाँच्न र अन्य सहयोगका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स निर्मला बास्तोलाले सहयोग गरेकी थिइन । 

यस्ता प्रभावकारी कार्यक्रमहरूको आयोजनामा सहकार्य गर्न पाएकोमा धुलिखेल समाजका अध्यक्ष युगलकुमार श्रेष्ठले सम्पूर्ण सहयोगी र विशेष गरी डा. प्रशान्त शाह र आयोजकलाई आभार व्यक्त गरे । 

आफ्नो स्वास्थ्य जाँच गराउन आएकी धरान–३ निवासी विमलादेवी श्रेष्ठले यति सजिलै घर आँगनमा आफ्नो स्वास्थ्य जाँच गराउन पाउँदा निक्कै नै सहजता भएकोमा खुसी व्यक्त गरिन् । श्रेष्ठले यस्ता कार्यक्रमहरू आयोजना गरेकोमा परिवर्तनका लागि सामाजिक अभियानप्रति पनि आभार व्यक्त गरेकी थिइन ।