धरान : फिल्म स्टारकास्टले चल्छ भन्ने मान्यताको पर्खाल भत्काएको बलिउड फिल्म 'द कश्मीर फाइल्स'ले बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ। प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाख कमाएको फिल्मले दुई हप्ता पनि पूरा नगर्दै २ सय करोड छापेको छ। बलियो 'वर्ड अफ माउथ'ले दोस्रो दिनबाट कमाइमा उछाल कायम गरेको फिल्मले पहिलो हप्तामै सय करोड कमाएको थियो ।

दोस्रो हप्ताको शुक्रवार १९ करोड १५ लाख, शनिवार २४ करोड ८० लाख, आइतबार २९ करोड २० लाख, सोमवार १२ करोड ४० लाख, मङ्गलवार १० करोड २५ लाख र बुधवार १० करोड ३ लाखको व्यापार गर्दै फिल्मले १२औँ दिनमा २ सय करोडको आँकडा छोएको हो । ‘सूर्यवंशी’को लाइफटाइम कलेक्सनलाई समेत पछि पार्दै ‘द कश्मीर फाइल्स’ सर्वाधिक कमाउने फिल्म बनेको छ । 

 २५ करोडमा निर्माण भएको फिल्मले ६ सय स्क्रिनबाट प्रदर्शन थालनी गरेको थियो । बलियो माउथ पब्लिसिटीले फिल्मको कमाई आक्रामक हुन थालेपछि पहिलो हप्तामा नै ४ हजार स्क्रिन थपिएको थियो । विवेक अग्निहोत्रीको निर्देशनमा तयार भएको  फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी लगायतका कलाकारको अभिनय छ । 

 फिल्ममा कश्मीर पीडितको त्यस बेलाको कथा प्रस्तुत गरिएको छ, जब ९० को दशकमा उनीहरूलाई आफ्नै राज्यबाट निकालिएको थियो । फिल्म अनुपम खेरले आफ्नो काँधमा बोकेका छन् । उनको जीवन्त अभिनयले फिल्मलाई जीवन दिएको छ । हिन्दी भाषामा सफल भएपछि 'द कश्मीर फाइल्स'लाई अब तमिल, तेलुगू, कन्नड़, मलयालममा डब गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।