धरान : चैत्र १५ गते देखि सुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । 

प्रतियोगिता आयोजनाको अन्तिम तयारीमा रहेको आयोजक धरान मेघा हिमालयन कलेजले आइतबार कफी पब एण्ड रेष्टोको हलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा सोह्र टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगितामा धरान र धरान आसपासका जिल्ला तथा क्षेत्रका विद्यालयका बास्केटबल टिमले सहभागिता जनाउने भएका छन् । 

सहभागि विद्यालयहरूमा आयोजक ए र वि, कार्मेल स्कुल, एम्स एकेडेमि, होलिल्याण्ड स्कुल, धरान आदर्श, समिट स्कुल, आइडल स्कुल, सियोन स्कुल, बिर्तामोड, पदम मेमोरियल, विष्णु स्कुल, हिमशिखर तरहरा, जुनियर पायनोर, सुम्निमा स्कुल र डिपो स्कुल रहेका छन् ।

सहभागी टिममा १९ वर्षका तथा २० वर्ष नपुगेका ११ र १२ कक्षाका ६ जना र १० कक्षा सम्मका ६ जना खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।  १० कक्षा सम्मका हकमा भने १२ जना खेलाडीले नै सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता दिवङ्गत उदयीमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा हुन लागेका हो । बास्केटबल खेलमा सम्भावना बोकेका उदयमान खेलाडी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्ययन गरिरहेका रेवाहाङ राईको असामयिक निधन पछि उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन, सुनसरी बास्केटबल सङ्घ र धरान बास्केटबल सङ्घको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल बास्केटबल सङ्घका केन्द्रीय अध्यक्ष सुरजकुमार लामाले पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि १ न. प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले गर्ने र समापन प्रमुख अतिथि १ न. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले गर्ने पत्रकार सम्मेलनका सभाध्यक्ष तथा आयोजक धरान मेघा हिमालयन कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेमले जानकारी गराए ।

धरान बास्केटबल सङ्घको संयोजन, सुनसरी बास्केटबल सङ्घ तथा धरान १२ न. वडा कार्यालयको सहयोगमा सम्पन्न प्रतियोगिताका विजेताले नगद पन्ध्र हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसै गरी प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडीलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफी पब एण्ड रेष्टोको फुड भौचर, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडीले ट्रफी, कफी पब फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

चैत्र १५ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताबाट काठमाण्डौमा हुन लागेको २३ वर्ष मुनिका राष्ट्रिय बास्केटबल प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनौट गरिने प्रदेश १ बास्केटबल प्रशिक्षक एवं प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । गत वर्ष उक्त प्रतियोगितामा धरान मेघा हिमालयन कलेजले सुनसरीको प्रतिनिधित्व गरेका थिए ।

प्रतियोगिताको फाइनखेल अघि कफी पब थ्री पोइन्ट कम्पिटिसन हुने

प्रतियोगिताको फाइनल खेल अघि कफी पब थ्री पोइन्ट कम्पिटिसन हुनेछ । 

पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनटमा थ्री पोइन्ट सट गर्नेछ ।  त्यस मध्येबाट उत्कृष्ट तिन खेलाडी छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्ये वाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट बास्केट गर्नेछ उही कफी पब थ्री पोइन्ट च्याम्पियन घोषित हुने संयोजक चाम्लिङले जानकारी गराए । थ्री पोइन्ट च्याम्पियनले नगद दुई हजार, कफी पब फुड भौचर, ट्रफि र मेडल प्राप्त गर्नेछ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, रेवाहाङको बुवा रेवतिरमन राई, धरान मेघा हिमालयनका, प्रदेश १ बास्केटबल टिमका पूर्व कप्तान हेमन राई, बास्केटबलका प्राविधिक सदस्य सन्दीप राई लगायतको  उपस्थिति रहेको थियो ।