धरान : पछिल्लो पाँच वर्षमा सुनसरीमा १ लाख १३ हजार ६ सय ६ जना मतदाता थपिएका छन् । 

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट जम्मा ५ लाख ३४ हजार ७ सय ६५ जनाले मतदानमा भाग लिन पाउनेछन् । २०७४ को स्थानीय तह निर्वाचनमा सुनसरीमा ४ लाख २१ हजार १ सय ५९ मतदाता थिए । 

सरकारले माघ २४ मा स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको थियो । त्यसको भोलिपल्टदेखि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो । ‘२०७८ माघ २४ सम्म मतदाता नामावलीमा सूचीकृत नागरिकले आगामी स्थानीय तह निर्वाचनमा भाग लिन पाउनेछन् । निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारी अनुसार सुनसरीमा सबै भन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा र कम मतदाता बर्जू गाउँपालिकामा रहेका छन् । 

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार सुनसरीको १२ पालिका मध्ये धरानमा २०७४ सालमा ७९ हजार २ सय ८२ जना मतदाता रहेकोमा २०७८ मा २१ हजार ४२ जना थपिएर १ लाख ३ सय  २४ जना मतदाता रहेका छन् । धरानमा पुरुष मतदाता भन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । जस अनुसार पुरुष मतदाता ४७ हजार ४ सय ८ जना र महिला ५२ हजार ९ सय १६ रहेको छ । 

सुनसरी जिल्लाकै सबै भन्दा धेरै मतदाता रहेको पालिका यस पटक इटहरी उपमहानगरपालिका भएको छ । २०७४ मा ७७ हजार ६ सय ७७ जना मतदाता रहेकोमा यस पटक २६ हजार ९ सय ४९ जना मतदाता थपिएर जम्मा १ लाख ४ हजार ६ सय २६ जना मतदाता रहेका छन् । इटहरीमा पनि पुरुष भन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । पुरुष ४९ हजार ९ सय २५, महिला ५४ हजार ७ सय रहेको छ । 

इनरुवा नगरपालिकामा २०७४ मा ३६ हजार १ सय ४५ जना मतदाता रहेकोमा २०७८ मा ४२ हजार ४ सय ४८ मतदाता पुगेका छन् । पुरुष २२ हजार ९२ र महिला २० हजार ६ सय ५६ जना मतदाता रहेका छन् । 

दुहबी नगरपालिकामा २०७४ मा ३० हजार ६ सय ७२ जना मतदाता रहेकोमा २०७८ मा ३६ हजार ७ सय ३० जना मतदाता पुगेका छन् । पुरुष १९ हजार २ सय र महिला १७ हजार ५ सय ३० जना मतदाता रहेका छन् । 

वराहक्षेत्र नगरपालिकामा २०७४ मा ४७ हजार ३ सय ९८ जना मतदाता रहेकोमा २०७८ मा ६३ हजार ६ सय ८ जना मतदाता पुगेका छन् । वराहक्षेत्रमा पनि पुरुष भन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । पुरुष ३१ हजार ४ सय २९ र महिला ३२ हजार १ सय ७९ मतदाता रहेका छन् । 

रामधुनी नगरपालिकामा २०७४ मा ३० हजार ३ सय ५६ मतदाता रहेकोमा २०७८ मा ४१ हजार ४ सय ७८ जना मतदाता रहेका छन् । रामधुनीमा पनि पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । पुरुष २० हजार १ सय ३ र महिला २१ हजार ३ सय ७४ मतदाता रहेका छन् । 

कोशी गाउँपालिकामा २०७४ मा २२ हजार ४ सय ३० जना मतदाता रहेकोमा २०७८ मा २६ हजार ४ सय ६६ मतदाता रहेका छन् । पुरुष १४ हजार ६ सय ९१ र महिला ११ हजार ७ सय ७५ जना मतदाता रहेका छन् । 

गढी गाउँपालिकामा २०७४ मा १९ हजार ६ सय ४६ मतदाता रहेकोमा २०७८ मा २३ हजार ८ सय १७ जना मतदाता रहेका छन् । पुरुष १२ हजार ३ सय ९८ र महिला ११ हजार ४ सय १९ जना मतदाता रहेका छन् । 

देवानगञ्ज गाउँपालिकामा २०७४ मा १९ हजार ५ सय ४५ मतदाता रहेकोमा २०७८ मा २३ हजार ५ सय ७८ जना मतदाता रहेका छन् । पुरुष १२ हजार ७ सय ८८ र महिला १० हजार ७ सय ९० जना मतदाता रहेका छन् । 

बर्जू गाउँपालिकामा २०७४ मा १८ हजार ५ सय ६४ जना मतदाता रहेकोमा २०७८ मा २२ हजार ४ सय ६७ जना मतदाता रहेका छन् । पुरुष ११ हजार ८ सय ८१ जना र महिला १० हजार ५ सय ८६ जना मतदाता रहेका छन् । 

भोक्राहा नरसिंह गाउँपालिकामा २०७४ मा १८ हजार ८ सय ८३ जना मतदाता रहेकोमा २०७८ मा २४ हजार १ सय १ जना मतदाता रहेका छन् । पुरुष १३ हजार ४ सय ५० जना र महिला १० हजार ६ सय ५१ जना मतदाता रहेका छन् । 

हरीनगर गाउँपालिकामा २०७४ मा २० हजार ५ सय ६१ जना मतदाता रहेकोमा २०७८ मा २४ हजार ८ सय २२ जना मतदाता रहेका छन् । पुरुष १३ हजार ७ सय ८१ जना र महिला ११ हजार ४१ जना मतदाता रहेका छन् । 

सुनसरी जिल्लामा यस पटकको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट १ जना र रामधुनी नगरपालिकाबाट १ जना गरी २ जना यौनिक तथा अल्पसङ्ख्यक समूहका व्यक्तिले पनि मतदान गर्दैछन् । 

सुनसरीमा १ सय ६६ स्थल र ५ सय ८१ मतदान केन्द्र 

आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सुनसरी जिल्लामा १ सय ६६ स्थल र ५ सय ८१ मतदान केन्द्रबाट निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

जस अनुसार धरानमा १ सय ७, इटहरीमा १ सय ११, इनरुवामा ४७, दुहबीमा ४२, वराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोशीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जूमा २५, भोक्राहा नरसिंहमा २८ र हरीनगरमा २८ गरी जम्मा ५ सय ८१ मतदान केन्द्रबाट मतदान हुनेछ । 

Matdata-suchi