इटहरी : २०७४ को निर्वाचनमा इटहरी उपमहानगरपालिकाका २० मध्ये १२ वडामा विजयी भएको काँग्रेस पुनः बहुमत वडाका साथ नेतृत्व गर्ने दाउमा छ। ८ वडा सहित मेयर र उपमेयरमा विजयी भएको एमालेको लागी नेतृत्व सहित बहुमत वडा विजयी गराउने चुनौती बढ्दै गएको छ।
प्रदेश १ कै केन्द्रमा रहेको इटहरीमा नेकपा एमालेले नेतृत्व गरिरहेको छ। विरासत जोगाउन रक्षात्मक अवस्थामा पुगेको एमालेलाई पार्टी भित्रको असन्तुष्टि चुनौती भएको छ। इटहरी एमाले भित्र असन्तुष्टि चुलिएको बेला चुनाव जित्ने आङ्कलन गरेको काँग्रेसले गठबन्धनका दलहरूलाई आफ्नै पक्षमा पार्ने उपाय अपनाउन थालेको छ। 
एमालेबाट हालका मेयर द्वारिकलाल चौधरीले दाबी गरिरहेका छन्। उपमेयर लक्ष्मी गौतम पनि बलियो दाबेदारको रूपमा देखा परेकी छिन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी गौतमको एमाले भित्र बलियो पकड बनाएकी उनी राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छिन् । सुनसरी जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीको समेत साथ पाएकी उनको लागि मेयरको टिकट सहज देखिन्छ । गौतमको तयारी बुझेका मेयर द्वारिकलाल चौधरीले उनलाई रोक्न लागिपरेका छन्। द्वारिकलालले टिकट नपाए चौधरी मत प्रभावित भएर काँग्रेसलाई फाइदा पुग्ने एमालेको बुझाई छ। 
नगर अध्यक्ष यामकुमार सुब्बाले पनि दाबेदारी प्रस्तुत गरेका छन् । अघिल्लो पटक पनि दाबेदारी प्रस्तुत गरेका उनी तिन कार्यकाल नगर अध्यक्ष चलाएका नेता हुन्। अहिलेसम्म स्वच्छ छविका सुब्बाले जनजाति मत आकर्षित गर्न सक्ने अनुमान गरिएको छ । नगर अध्यक्ष भएर पनि खासै व्यक्तिगत प्रभाव बढाएका छैनन्। मेयर र उपमेयर मध्ये अनिवार्य महिला समावेश गर्नुपर्ने संवैधानिक व्यवस्थाले गर्दा उपमेयर लक्ष्मी गौतमले मेयरमा टिकट पाए सुब्बाले उपमेयरमा पाउने सम्भावना छ। 
२०७४ मा राप्रपाबाट मेयरको उम्मेदवार भएका रमेश कार्की यसअघि नै एमाले प्रवेश गरिसकेका छन् । त्यस्तै माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार भीम प्रसाद सुवेदीले पनि एमाले रोजेका छन् । उता माओवादीबाटै सुनसरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उम्मेदवार भएका डम्बर सुवेदी समेत एमालेमा छन् । जसले एमाले बलियो बन्दै गएको जस्तो देखिन्छ । राप्रपा सँगै गठबन्धन गरेर चुनावी अभियानमा जाने एमालेको तयारी छ।  एमाले भित्रको आन्तरिक कलह र जनप्रतिनिधि बिचको द्वन्द्वले एमालेको जनमत कमजोर बन्दै गएको छ। एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले पनि थोरै प्रभाव पार्ने अवस्था छ। यसबिचमा सङ्घीय सरकारको गठबन्धनका दलहरू बिच चुनावी तालमेलको विषयमा छलफल सुरु भएको छ। 
एमालेको विरासतलाई विराम लगाउने योजनामा रहेको काँग्रेसले गठबन्धनलाई आफ्नै पक्षमा मनाउने कोसिस जारी राखेको छ । उता गठबन्धन मध्येको नेकपा (एकीकृत समाजवादी)ले भने केशव कुमार विष्टलाई उम्मेदवार बनाउने तयारी थालेको छ। गठबन्धनको समर्थनमा विष्टलाई उम्मेदवार बनाउने नेकपा एसको रणनीति छ।  तथापि काँग्रेसले गठबन्धनको निर्णय आवश्यकताको आधारमा जिल्ला तथा स्थानीय पालिकाले नै गर्ने नीति तय गरेको छ । सोही बमोजिम शनिवार इटहरीका बसेको गठबन्धनका दलहरूको बैठकले तालमेलको बारेमा छलफल गरेको थियो । जसमा नेकपा एसले नेतृत्वको जिम्मा आफूहरूले पाउनुपर्ने धारणा राखे । बाँकी ४ दलले काँग्रेसको नेतृत्वमा मात्र एमालेलाई पराजित गर्न सकिने बताएका थिए। 
नेपाल प्रेस युनियन इटहरीले शनिवार आयोजना गरेको 'यूथ कङ्ग्रेस कन्क्लेभ २०७८' मा काँग्रेस नेताहरूले निर्वाचनमा एमालेको पराजय निश्चित भएको औँल्याए । कार्यक्रमको वक्ता अतिथिको रूपमा आमन्त्रित आकाङ्क्षी उमेद्धवारहरुले काँग्रेसको विजय निश्चित भएको प्रष्ट पारे । नगर सभापति हेमकर्ण पौडेल र दुई महाधिवेशन प्रतिनिधि भीम बहादुर पौडेल र रोहित प्रसाईँले एमाले नेतृत्वले इटहरीलाई निकास दिन नसकेको आरोप लगाए । काँग्रेस सहितको ५ दलिए गठबन्धनमा पनि इटहरी काँग्रेसकै भागमा पर्ने विश्वास व्यक्त गरे।
२०७४ को स्थानीय तह निर्वाचन ताका इटहरी उपमहानगरपालिकामा ७७ हजार ६९७ मतदाता रहेकोमा यस पटक मतदाताको सङ्ख्या १ लाख ४ हजार ६ सय २६ पुगेको छ। २८ हजार नयाँ मतदाताले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।  एमालेले नेतृत्वले आकर्षण थप्न नसकेपछि गर्दा इटहरीमा खासै परिवर्तन नभएको र इटहरीका सामान्य पूर्वाधार समेत नबनेको अवस्थामा एमाले रक्षात्मक बन्नुपर्ने अवस्थामा पुगेको हो । नयाँ युवा मतदातालाई आकर्षित गर्न सक्ने कार्यक्रम र उम्मेदवार अहिले काँग्रेसको आवश्यकता हो । काँग्रेसले नयाँ मतदाता केन्द्रित टोल भेलालाई आक्रामक ढङ्गले अगाडी बढाएको छ । 
अघिल्लो निर्वाचनमा मेयर पदमा ४ स्वतन्त्र सहित १५ जनाले उम्मेदवारी दिएका थिए। कुल ५२,५२२ खसेको सदर मत मध्ये एमालेका उम्मेदवार चौधरीले २२,६८९ काँग्रेसका प्रसाईँले १९,९८५ मत प्राप्त गरेका थिए । राप्रपाका रोहित कुमार कार्कीले ३,७१५ र माओवादी केन्द्रकी हरिमाया जिमीको ३३६४ मतले जमानत जोगिन सकेन । फोरम लोकतान्त्रिकमा उम्मेदवार अरुण चौधरीले १,४३७ पाएका थिए।
हाल लोकतान्त्रिक काँग्रेसमै विलय भएको छ । उता नेकपा माओवादी, राप्रपा देखी अन्य साना दलको समेत सान्त्वना मत पाउने अवस्थामा काँग्रेस पुगेको छ । त्यससँगै साना दलहरूलाई भागबण्डा मिलाउन सके इटहरी एमालेको विरासतमा विराम लाग्ने देखिन्छ । गठबन्धनमा नेकपा एसले मेयरको भाग पाए पुनः एमालेको उदय निश्चित छ । यही बिचमा गठबन्धनका दललाई मेयर र उपमेयर छाड्नुपरे स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस नेताहरूले तयारी थालेका छन् ।