इटहरी  :  विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर विजय यादवको हत्या आशङ्कामा ८ जना पक्राउ परेका छन् । 

सप्तरीको विष्णुपुर गाउँपालिका १ का डा.यादव शनिवार बिहान उनी डेरा बसेको घरको गेटमा मृत फेला परेका थिए । शुक्रवार राति अबरेसम्म डा. यादवसँगै मदिरा सेवन गर्ने २ जना र अन्य ६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरेको छ ।

७ महिना अगाडि झगडा गर्ने फार्मेसी सञ्चालक सहित शुक्रवार राति झगडा गर्ने युवाहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार पक्राउ परेका युवाहरूलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । 

हाडजोर्नी सम्बन्धी उपकरण सप्लाई गर्ने जीवन कठेत र सुदीप पौडेलसँग डा.यादव एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेका थिए  । मृतकको शवको पोस्टमार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन नभएकोले अनुसन्धानको लागि नियन्त्रणमा राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ परेका युवाहरूले प्रहरीलाई दिएको बयान अनुसार होटलमा बसेर खानपिन गरेका युवाहरू स्कुटर चढेर ११ बजे राति डा. यादवलाई पुर्‍याउन डेरामा पुगेका थिए । डा.यादव नोबेल अस्पताल अगाडि नहर पूर्वको प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए । स्थानीयले बिहान यादवको मृत शरीर घरको गेटमै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।