सुनसरी : रोलिङ क्लब झापा सुनसरीमा जारी बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  इटहरी रङ्गशालामा आज भएको तेस्रो क्वाटर फाइनल खेलमा पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई २-१ गोल अन्तरले पराजित गर्दै रोलिङ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । रोलिङ क्लबका लागि विदेशी खेलाडी फोफना फोडे र मार्टिनले एक एक गोल गरे । एभिनियरको तर्फबाट केन्नीले एक गोल फर्काए। 
खेलमा एभिनियर क्लबले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित बन्न पुग्यो । एभिनियरको तर्फबाट खेलको २७ औँ मिनेटमा केन्नीले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेट लगत्तै रोलिङ क्लबको तर्फबाट फोफनाले २८ औ मिनेटमा एक गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि खेलको निर्धारित ९० मिनेटसम्म कुनै टिमबाट थप गोल हुन नसकेको अवस्थामा थपिएको अतिरिक्त २ मिनेटको समयमा मार्टिनले रोलिङ क्लबका लागि निर्णायक गोल गरे । 
आजको खेलको म्यान अफ द म्याच  रोलिङ क्लबका पिटर सेगुन घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । भोलि मङ्गलवारको अन्तिम क्वाटर फाइनल खेल न्युरोड टिम एनआरटी र सगरमाथा फुटबल क्लब मोरङ बिच हुने आयोजकले जनाएको छ । चैत्र २६ गतेसम्म हुने प्रतियोगितामा दुई विदेशी सहित ८ टिमले सहभागी जनाएका छन् । प्रतियोगिताको विजेताले सात लाख पाउनेछन् भने उपविजेताले तीन लाख पचास हजार पाउनेछ ।