इटहरी : प्रदेश १ का दुई मात्र उपमहानगरपालिका मध्ये इटहरीमा पदम अधिकारीले मेयरमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर पदमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

उपमहानगरको मान्यता अनुसारको सुपर समृद्धिको योजना बनाउने लक्ष्य सहित शनिवार पत्रकार सम्मेलनको आयोजना गरे । इटहरीको चिया चौतारीमा आयोजित पत्रकार सम्मेलनमा उनले दलीय वितृष्णाबाट जनतालाई बचाउन आफू उम्मेदवार बन्न लागेको बताए ।
नेकपा एमालेबाट राजनैतिक यात्रा सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टीका नेता थिए । जसपा विभाजन भएपछि लोकतान्त्रिक समाजवादी तर्फ लागेका उनले आफू अहिले स्वतन्त्र भएको बताएका छन् ।  
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) अनुमोदन पछि नेपाली राष्ट्रियतामा कालो बादल मडारिएको उनको आरोप छ । देशको अर्थतन्त्र सङ्कटग्रस्त भएको र महँगी थेग्नै नसक्ने गरी बढेको उनको भनाई छ । 
लोकतन्त्र जनताको जीवनमा अनुभूति हुनुपर्ने तर नेपालमा दलतन्त्रलाई नै लोकतन्त्रको रूपमा अभ्यास गरिएको अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जसले गर्दा जनतामा लोकतन्त्र प्रति वितृष्णा जागेको र लोकतन्त्रको प्रत्याभूति दिलाउन आफू उम्मेदवार भएको उनले प्रस्ट पारेका छन् । 
इटहरीको कला साहित्य, पर्यटन, खेलकुद, लघु औद्योगिक एवम् थारु संस्कृतिको संरक्षणमा ध्यान दिने बाचा गरेका छन् । सुपर समृद्धिको योजना बनाई कार्यान्वयन गर्ने र जसको लागी भू-उपयोग नीति, रोड बिस्तार, प्रकोप व्यवस्थापन, शिक्षा, स्वास्थ्य र समावेशिताको क्षेत्रमा सुधार ल्याउने उनको योजना छ । दलतन्त्रको हेजेमोनीको विकल्पमा आफू स्वतन्त्र उम्मेदवार भएको उनले बताए ।