धरान : नयाँ वर्षको अवसरमा चर्चित गायिका मेचु धिमालले न्यु इयर इभमा धरानमा सांगितिक प्रस्तुति दिने भएकी छिन् । 

गायिका धिमालले धरानको पुतली लाइन स्थित कफी पब एन्ड रेष्टोमा आफ्नो लाइभ प्रस्तुतिले सङ्गीतका पारखी धरानेहरुलाई तताउने भएकी हुन ।

बन्डल एजेन्सी, धरानको इभेन्ट म्यानेजमेन्ट तथा कफी पबको आयोजनामा चैत्र ३० गते न्यु इयर इभ स्पेसल मेचु धिमाल नाइट हुन लागेको हो । सानै देखि कला क्षेत्रमा रुचि भएकी मेचु धिमाल भोइस अफ नेपाल २०१९ कि टप एटमा पुग्न सफल भएकी थिइन । उनले अहिले सम्म एक सय ५० भन्दा बढी गीत रेकर्ड गराइ सकेकी छन् ।

उनको डेढ दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा आइसकेका छन् । यही महिना मात्र उनले भोइस अफ किड नेपालकी पेमादिछेन तामाङ र रुक्साना लिम्बु सँग दुई वटा गीत बजारमा ल्याएकी छन् । यस सँगै सुप्रीम मल्लको साथमा अन्ताक्षरी वोलको गीत ल्याउने तयारीमा रहेकी छिन् । उनको फसायो नि मिठो वोलेर, उड्नु छ, गाग्रीको पानी, लगायत गीतहरू ट्रेन्डिङमा पर्न सफल भइसकेका छन् ।

धरान मन पर्ने बताउने मेचुको यो तेस्रो पटक धरान भ्रमण हो । न्यु इयर इभ स्पेसल मेचु धिमाल नाइटमा आफ्नो नयाँ पुराना सँगै डेढ दर्जन गीत गाउने छिन् । उनको प्रस्तुति पछि पूर्वको चर्चित डिजे तथा कोरियोग्राफर ललित राईको डिजे सेसन रहने इभेन्ट व्यवस्थापन हेरेका बन्डल एजेन्सी धरानका प्रोप्राइटर निकेन राईले बताए । काउन्ट डाउन गरेर नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रम समापन हुनेछ ।