धरान : परिवर्तनका लागि सामाजिक अभियानको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक भानु स्मृति मावि धरानमा सम्पन्न भएको छ । 

३ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न उक्त क्लिनिकमा ६५ जना ज्येष्ठ नागरिकहरूले स्वास्थ्य जाँच गराएका थिए । 

मुटु, मधुमेह र रक्तचापको परीक्षण गरिने उक्त कार्यक्रम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहको सहकार्यमा भएको हो । स्वास्थ्य जाँच गर्दाको क्रममा बिरामीहरूले अस्पताल जान र्हलचेक्र्याई गर्नु र खानपानमा ध्यान नदिने समस्या बढी पाईको डा. शाहले बताए । “बिरामी बढ्नुको प्रमुख कारण खानपानमा ध्यान नदिनु र नजिकैको औषधि पसलेको सुझावले दवाई खानु पाइयो” डा. शाहले बताए । 

परिवर्तनका लागि सामाजिक अभियानको यो क्लिनिक १४ औँ संस्करणमा सम्पन्न भएको छ  । सुरुवात देखि ९ औँ संस्करण सम्म धरान मोडल कलेजमा आयोजित यो कार्यक्रम वडा–वडामा आयोजना गर्ने लक्ष्य अनुरूप वडा नं. १८, वडा नं. २, वडा नं. १ र वडा नं. १३ मा आयोजना भइसकेको छ ।

विशेष गरी ७० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकको लागि आयोजित यो कार्यक्रम समुदायमा निकै नै प्रभावकारी भएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “वृद्ध बुवाआमाहरुलाई सहज होस् भनेर यो कार्यक्रम आयोजना गरेका हौँ, वहाँहरूलाई सहजता प्राप्त हुँदा हामीलाई आत्मसन्तुष्टि मिल्छ” बरालले भने । 

अभियानका अभियानकर्मी मोहन श्रेष्ठ, विदुर थापा, जेनिश शाक्य, प्रशान्त अग्रवाल, निशान नेपाल, हेम ढकाल, विजय श्रेष्ठको सहभागिता रहेको उक्त कार्यक्रममा ६ नं. वडा कार्यालयकी स्टाफ नर्स चेतना परियारले रक्तचाप परीक्षण लगायतका विविध कार्यमा सहयोग गरेकी थिइन ।

समुदायमा निकै नै प्रभावकारी रहेको यस प्रकारको कार्यक्रम निरन्तर रूपमा आयोजना हुनुपर्ने स्थानीय मनिष खड्गीले बताएका थिए भने ३ नं. वडा कार्यालयका वडाध्यक्ष आशा कुमार श्रेष्ठले आयोजक संस्था, परिवर्तनका लागि सामाजिक अभियान एवम् डा. प्रशान्त शाहलाई धन्यवाद प्रकट गरेका थिए ।