विराटनगर : मोरङको जहदा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को उपाधि जहदा–४ ले तिलेको छ ।
शनिवार भएको फाइनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्धारित २० मध्ये १९ औँ ओभरको प्रगतिमा सबै विकेट गुमाई १६५ रनको स्कोर खडा गरेको थियो ।
जहदा–४ का लागि रबिन मण्डलले सर्वाधिक ४९ रन बनाउँदा विशाल मण्डलले २७, सुमन राजवंशीले १९, महेश मण्डलले १५, नीरज गौतमले १३ र चन्दन सिंहले १० रन जोडेका थिए । जहदा–४ का लागि अमोद मण्डलले ३ विकेट लिँदा नीरज, रबिन र चन्दनले २÷२ तथा सुमन राजवंशीले १ विकेट लिएका थिए ।
१६६ रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लब १७ औँ ओभरको प्रगतिमा सबै विकेट गुमाउँदै १५१ रनमा सीमित भएको थियो । क्लबका तर्फबाट अभिषेक सिंहले सर्वाधिक ६४ रन जोड्दा श्यामसुन्दर मण्डलले ३२, अभिषेक साहले १७ र बलराम कामतले १० रनको योगदान दिएका थिए । लक्ष्मिनिया युवा क्लबका लागि बलराम कामतले २ विकेट लिँदा निरञ्जन अधिकारी र श्यामसुन्दर मण्डलले २÷२ तथा अभिषेक सिंह, अङ्कित सिंह राजपूत र जयकिशोर यादवले १÷१ विकेट लिएका थिए ।
खेलको ‘म्यान अफ द म्याच’ विजेता जहदा–४ का रबिन मण्डल भए । उनले कप र प्रमाण–पत्र प्राप्त गरे । यस्तै टुर्नामेन्टको ‘म्यान अफ द सिरिज’ उप–विजेता लक्ष्मिनिया युवा क्लबका अभिषेक सिंह, वेस्ट बलर क्लबकै निरञ्जन अधिकारी, वेस्ट क्याच विजेता टिम जहदा–४ का विशाल मण्डल र वेस्ट फिल्डर सोही टीमका चन्दन सिंह घोषित भए । उनीहरूले पनि मेडल र प्रमाण–पत्र प्राप्त गरे ।
केही प्राविधिक समस्याका कारण टुर्नामेन्टको दोस्रो सेमिफाइनल खेल शुक्रवार नै भए पनि पहिलो सेमिफाइनल भने शनिवार बिहान भएको थियो । पहिलो सेमिफाइनलमा जहदा–४ ले जहदा–२ लाई ३४ रनले पराजित गरेपछि जहदा–४ फाइनलमा पुगेको थियो ।
शनिवार भएको फाइनलमा विजेताको उपाधि हात पारेको जहदा–४ ले मेडल र प्रमाण–पत्र सहित नगद ३१ हजार तथा उप–विजेता बनेको लक्ष्मिनिया युवा क्लबले मेडल र प्रमाण–पत्र सहित नगद २१ हजारको पुरस्कार प्राप्त गर्यो । प्रदेश नं. १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादव तथा जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले विजेता र उप–विजेता टिमलाई पुरस्कृत गरेका थिए ।
खेलको औपचारिक कार्यक्रममा बोल्दै प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले पनि पछिल्लो समय आयोजक क्लबको भुमिका र सक्रियता बढ्दै गएको विषयको प्रशंसा गरे । उनले भोलिका दिनमा क्लबलाई चाहिने आवश्यक सहयोगका निम्ति आफू सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै जहदा गाउँपालिकाका अध्यक्ष मण्डलले लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित यस प्रकारले खेलले राष्ट्रिय स्तरका खेलाडीहरूको उत्पादनमा सहयोग पुर्याउने बताए । उनले आयोजक टिमप्रति आभार समेत प्रकट गरे ।
लक्ष्मिनिया युवा क्लबले २०७५ सालदेखि प्रत्येक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आइरहेको छ । क्लबले यसअघि पनि भने २०७५, २०७६ र २०७७ मा ३ पटकसम्म क्रिकेट टुर्नामेन्टको आयोजना गरिसकेको छ ।