इटहरी : पूर्वी नेपालको सीमावर्ती नगरपालिकाका हो मेचीनगर। भारतीय सिमानामा पर्ने भएकाले मेचीनगर अन्य नगरपालिकाको तुलनामा संवेदनशील नगरपालिका भित्र पर्छ। त्यही संवेदनशीलता भित्र पनि अनेकन् अवसर मेचीनगरले पाएको छ। 
केही महिना अगाडी काँकडभिट्टा बजारमा आगलागी हुँदा सिलगुडीबाट दमकल आए। जसले गर्दा थप क्षति हुन पाएन । सीमावर्ती बजारमा रोजगारी गर्ने देखी व्यापार बढाउने अवसर मेचीनगरले पाएको छ। मित्र राष्ट्रका पालिकाहरू सँग भगिनी सम्बन्ध कायम राखेर फाइदा लिने अर्को अवसर पनि सँगै छ। 
हाल नेपाली काँग्रेसका विमल आचार्य मेयर छन् भने नेकपा एमालेकी मिना उप्रेती उपमेयरको रूपमा कार्यरत छिन् । आचार्य पुनः मेयरको उम्मेदवार नहुने लाइनमा छन् । उता उपमेयर उप्रेतीले भने मेयरमा दाबी गरेकी छिन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी उप्रेती पार्टी भित्र प्रभावशाली भूमिकामा छिन्। 
काँग्रेसले बुधवार मेयरको लागि ४ जनाको नाम सिफारिस गर्‍यो । त्यसमध्ये पनि केशवराज पाण्डे बलियो दाबेदारको रूपमा देखा परेका छन् । पाण्डे सहित इन्द्र बहादुर बुढाथोकी, मणिकुमार उप्रेती र दुर्गादेवी खतिवडाको नाम सिफारिसमा परेको छ। 
प्रदेश देखी केन्द्रसम्मै बलियो पकड भएका पाण्डे स्थानीयस्तरमा समेत प्रभावशाली भूमिकामा छन् । उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदै लामो समय महासङ्घमा काम गरेका उनी काँग्रेस झापाका उपसभापति हुन् । झापामा बलियो प्रभाव राख्ने पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला प्यानलका उनले स्थानीयतहका आफ्नो छुट्टै प्रभाव बढाएका छन् । 
महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्रका पाण्डे स्थानीय रूपमै पकड भएका नेता हुन् । सन्तुलन मिलाउन भए पनि शर्माले पाण्डेलाई समर्थन गर्ने देखिएको छ । यसअघि दुई पटक पराजित भएका शर्मालाई यस पटक जित्नै पर्ने दबाब छ। त्यसको लागि पार्टी भित्रको शक्ति सन्तुलन जरुरी देखिन्छ । 
स्थानीय विकाशको सवालमा सीमावर्ती क्षेत्रको प्रचुर फाइदा लिन नसकिएको पाण्डे बताउँछन् । स्थानीयतहले  नेपाल सरकारको ध्यानाकर्षण गराएर पारवहन क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने उनको बुझाई छ। नेपालमा उत्पादित सय भन्दा बढी सामानलाई ड्युटी फ्री गरेर बङ्गलादेश पुर्‍याउन सकिने भए पनि त्यसको लागि ठोस पहल नभएको उनले बताए । 
"बङ्गलादेशका पर्यटक नेपाल ल्याउन सक्ने अवस्था अझैसम्म बनेको छैन । पश्चिम बंगालकै आधा जनसङ्ख्यामा लाई सीमावारि ल्याउन सके प्रदेश १ को आर्थिक विकाशमा कायापलट हुन्छ ।,” उनले भने, दार्जिलिङ जाने पर्यटकलाई इलाम देखी ताप्लेजुङ सम्म पुर्‍याउन सकिन्छ। मध्य पहाडी राजमार्गबाट हलेसी सम्म पुर्‍याएर प्रदेश १ भरिनै पर्यटनको सम्भावना खोल्न सकिन्छ । मेचीनगरमा स्टार लेवलका धेरै होटेल चल्ने सम्भावना छ। त्यसको लागि लगानीमैत्री जनप्रतिनिधि आवश्यक छ ।"