इटहरी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारप्रसार तीव्र बन्दै गएको छ। इटहरी उपमहानगरपालिकामा मुख्यतः नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले बिच प्रतिस्पर्धा हुने भएको छ। काँग्रेसको तर्फबाट नगर सभापति हेमकर्ण पौडेल र एमालेबाट नगर अध्यक्ष यामकुमार सुब्बा मेयरको प्रतिस्पर्धामा छन्।

जनप्रतिनिधि आउनु अगाडी दलीय संयन्त्रमा काम गरेको अनुभव सँगालेका दुवै नेताहरू बिच चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ। अघिल्लो निर्वाचनमा कुल ५२,५२२ खसेको सदर मत मध्ये एमालेका उम्मेदवार द्वारीकलाल चौधरीले २२,६८९ काँग्रेसका रोहित प्रसाईँले १९,९८५ मत प्राप्त गरेका थिए । राप्रपाका रोहित कुमार कार्कीले ३,७१५ र माओवादी केन्द्रकी हरिमाया जिमीको ३३६४ मतले जमानत जोगाउन सकिनन् । फोरम लोकतान्त्रिकमा उम्मेदवार अरुण चौधरीले १,४३७ पाएका थिए ।

काँग्रेस र एमाले बिचको एकल प्रतिस्पर्धामा पनि २७०४ मतले मात्र पराजित भएको काँग्रेस यस पटक उत्साहित देखिएको छ । एमाले विभाजन पछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी सँगको गठबन्धनले काँग्रेसलाई उत्साहित बनाएको हो। नयाँ मतदातामा पनि परिचित मानिएका पौडेल नेकपा एमालेको लागि चुनौतीको रूपमा देखा परेका छन् । काँग्रेस भित्रको एकता कायम राख्दै नयाँ मतदाता र गठबन्धनको मत लिन सके काँग्रेस विजयको नजिक देखिन्छ ।

शालीन र भद्र स्वभावका सुब्बाको उमेद्धवारीले एमाले वृत्तमा पनि ऊर्जा थपिएको छ। एमालेका पुराना मतदाता सुब्बालाई विजयी गराउने ध्याउन्नमा छन् । सुब्बाको लागि जनजाति मत आकर्षित हुनसक्ने भन्दै काँग्रेसले पनि जनजाति केन्द्रित मुद्दालाई अगाडी सार्ने भएको छ । यसअघि २ कार्यकाल नगर सभापति भएका पौडेलले तेस्रो कार्यकालमा निरन्तरता दिइरहेका छन् । सुब्बाले पनि नगर अध्यक्षको तेस्रो कार्यकाल चलाइरहेका छन् । 

वाकपटुताको कारण पौडेल आफ्नो पक्षमा माहौल बनाउने क्षमता राख्छन् । २०५७ सालमा जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट सभापतिमा विजयी भएपछि उनको राजनैतिक यात्रा सुरु भएको हो । नेपाल विद्यार्थी सङ्घबाट उम्मेदवारी दिएका उनले एमाले निकट अनेरास्ववियुको गढ मानिएको क्याम्पसमा ऐतिहासिक जित हासिल गरेका थिए । जसको कारण उनको राजनैतिक उचाइ बढ्यो । त्यसपछि तरुण दल हुँदै पार्टी राजनीतिमा उदाएका पौडेलले युवा अवस्थामा नै इटहरी काँग्रेसको नेतृत्व गर्ने अवसर पाए ।

अघिल्लो पटकको स्थानीय निर्वाचनमा पनि मेयरको दाबी गरेका उनले टिकट पाउन सकेनन् । पछि प्रदेशसभामा एमालेका उम्मेदवार सर्वध्वज सावा सँग पराजित भए । त्यसपछि १४ औँ महाधिवेशनबाट पुनः नगर सभापति निर्वाचित भएपछि उनको चर्चा बढ्यो । कुनै बेला गणनामै नआउने इटहरी काँग्रेस अहिले नेतृत्व गर्ने तयारीमा पुगेको छ । राप्रपा भन्दा कमजोर अवस्थामा रहेको काँग्रेस अहिले गठबन्धनको नेतृत्व सहित चुनावी मैदानमा छ । मेयरका उम्मेदवार पौडेलको लागि स्ववियूमा जस्तै इतिहास बनाउने नयाँ अवसर आएको छ ।